साढे दुई करोडको कोकिनसहित दुई विदेशी पक्राउ

काठमाडौँ, बैशाख ७ । करिब साढे दुई करोडको कोकिनसहित दुई विदेशी नागरिक पक्राउ परेका छन् ।

भारतीय नागरिक ५१ वर्षीय रवीन्द्रकुमार पाराशर र केन्याका नागरिक पिलिसिला वान्जा डिरितु पक्राउ परेका हुन् ।

लागूऔषध कोकिनको कारोबार गर्न लागेको भन्ने सूचनाका आधारमा प्रहरीले उनीहरुलाई काठमाडौंको ठमेलबाट पक्राउ गरेको हो ।

प्रहरीले मंगलबार ठमेलको एक होटलबाट पाराशरलाई पक्राउ गरेको थियो । उनको साथमा रहेको झोलामा १।८ केजी कोकिन बरामद भएको थियो ।

त्यसबारे थप अनुसन्धान गर्दा सो कोकिन केन्याका नागरिकडिरितुले इथियोपियाबाट काठमाडौंसम्म ल्याएर भारतीय नागरिक पाराशरलाई बिक्री गरेको खुलेको छ ।

प्रहरीले दुवैलाई नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाएको केन्द्रीय लागूऔषध ब्युरोका प्रवक्ता चक्रराज जोशीले बताए ।

प्रतिक्रिया दिनुहोस्