नेपाल टेलिभिजनमा निजी स्वार्थका लागि पदको दुरुपयोग गरेको भन्दै आरतीलाई हटाउन माग

काठमाडौं, २७ चैत- नेपाल टेलिभिजनमा सञ्‍चालक समिति सदस्यसमेत रहेकी १० औं तहकी कर्मचारी आरती चटौतलाई सञ्‍चालक समिति सदस्यबाट हटाउनुपर्ने मागसहित कर्मचारी संघ आन्दोलित बनेको छ ।

नेपाल टेलिभिजनमा कर्मचारीको प्रतिनिधित्व गर्दै सञ्‍चालक समिति सदस्य बनेकी चटौतले समस्यामा परेका कर्मचारीको हितको पक्षमा बोल्‍नुको साटो पीडित कर्मचारीलाई थप पीडा हुने गरी प्रस्तुत भएको भन्दै सञ्‍चालक समिति सदस्यबाट हटाउन नेपाल टेलिभिजन कर्मचारी संघले माग गरेको हो ।

संघले सञ्‍चार तथा सूचना प्रविधि मन्त्रालय, सञ्‍चालक समिति, नेपाल टेलिभिजनका कार्यकारी अध्यक्ष र महाप्रबन्धलाई पत्र पठाउँदै उनलाई तत्काल सञ्‍चालक समिति सदस्यबाट हटाएर श्रमिक कर्मचारीको प्रतिनिधित्व हुने व्यवस्था मिलाउन माग गरेको छ ।

विगतमा पनि सञ्‍चालक समितिमा कर्मचारी संघले नै प्रतिनिधित्व हुने गरिरहेको भए पनि यसअघि तत्काली कार्यकारी अध्यक्ष महेन्द्र विष्टले आफू निकट रहेकी चटौतलाई सञ्‍चालक समिति सदस्य बनाउन लबिङ गरी सोही अनुसार निर्णय गराएका थिए । तर, चटौत सञ्‍चालक समिति सदस्य भएपछि भने श्रमिक कर्मचारीको प्रतिनिधित्व हुने गरी काम नगरेको कर्मचारी संघको माग रहेको छ ।

उक्त पत्रमा भनिएको छ, ‘कर्मचारीको नाममा प्रतिनिधित्व गरिराख्‍नु भएका सञ्‍चालक समिति सदस्यले आफ्नो निजी स्वार्थका लागि पदको दुरुपयोगसमेत गरेको हुँदा श्रमिक कर्चारीको प्रतिनिधित्व हुने गरी व्यवस्था मिलाई दिन अनुरोध छ ।’

संघले कर्मचारी संघको प्रतिनिधिलाई नै नेपाल टेलिभिजनको सञ्‍चालक समितिमा यसभन्दा पहिलेकै जस्तो गरी मनोनयन हुने व्यवस्था गर्न पनि संघले माग गरेको छ ।

सञ्‍चालक समिति सदस्य भएपछि नेपाल टेलिभिजनमा कुनै कार्यक्रम अथवा समाचार वाचन र सञ्‍चालन गर्न नपाइने प्रावधान भए पनि चटौतले भने नियम विपरीत कार्यक्रम सञ्‍चालन गर्दै आएकी छन् ।

त्यसैगरी नेपाल टेलिभिजनको कर्मचारी विनियमावली विपरीत उनले निमित्त नायब महाप्रबन्धकको रुपमा तलब भत्ता लिइरहेकी छन् । यसरी नियम र कानुनविपरीत रहेको कर्मचारीलाई थप बल पुग्‍ने गरी व्यवस्थापनले सहयोग गरेको भन्दै कर्मचारीहरु आन्दोलित भएका हुन् ।

प्रतिक्रिया दिनुहोस्