हिउँदयाम सकिएसँगै देशभर प्रि-मनसुन सुरु

काठमाडौं, फागुन १७ ।  हिउँदयाम सकिएसँगै देशभर प्रि-मनसुन सुरु भएको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

मौसमविद् मञ्जु बासीका अनुसार हिउँदयाम सकिएर मार्च १ अर्थात् बुधबारदेखि सुरु भएको प्रि-मनसुन तीन महिनासम्म रहने छ ।

प्रि-मनसुनको अवधि मार्च, अप्रिल र मेसम्म रहने, त्यसपछि मनसुन सुरु हुने उहाँले जानकारी दिनुभयो । प्रि-मनसुनको समयमा दिउँसो मेघगर्जन/चट्याङका साथै हावाहुरी र असिना पानीको सम्भावना रहने मौसमविद्ले बताएका छन् ।

यस मौसमी प्रणालीका समयमा स्थानीय वायुको प्रभाव धेरै हुने गरेको बताइएको छ । यस वर्ष हिउँदमा १४ वर्षयताकै कम वर्षा भएको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । हिउँदयाम सकिने बेलामा केही दिनअघि काठमाडौं, पोखरासहित केही ठाउँमा हल्कादेखि सामान्य वर्षा भएको थियो ।

यस वर्षको हिउँदमा उच्च पहाडी र हिमाली जिल्लामा न्यून हिमपात भएको विभागले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्