पशुपति मन्दिर परिसरमा महाशिवरात्रीको तयारी तीव्र
काठमाडौं , फागुन २ । पशुपतिनाथ मन्दिर परिसरमा महाशिवरात्रीको तयारी तीव्र पारिएको छ ।
मन्दिर परिसरमा रङ रोदनको काम धमाभम भइरहेको हो । यस वर्ष यहि फागुन ६ गते महाशिवरात्री पर्व मनाइने भएको छ । महाशिवरात्रीका लागि छिमेकी देश भारत र श्रीलंका लगायतबाट साधुसन्तहरुसमेत नेपाल आउने क्रम जारी रहेको छ ।
यसरी आउने साधुहरुलाई दान दक्षिणसहित बिदा गर्ने प्रचलन रहेको छ । शिवरात्रीका अवसरमा पशुपतिनाथको दर्शनका लागि स्वदेश तथा भारतका विभिन्न स्थानबाटसमेत भक्तजनहरु आउने गर्दछन् ।
शिवरात्रीकै अवसरमा पशुपति क्षेत्रमा विशेष मेला समेत लाग्ने गर्दछ । उक्त मेलामा किनमेलका लागि विशेष बजारका अतिरिक्त बालबालिकाका लागि विभिन्न प्रकारका मनोरञ्जनात्मक खेलको व्यवस्थासमेत हुने गर्दछ ।
फागुन कृष्ण चतुर्दशीका दिन मनाइने यो पर्वमा शिवालयहरुमा भक्तजनको भीड लाग्ने गर्दछ । सोही दिन शिवालयमा बेलपत्र चढाउने, उपवास र रात्रि जागरण गर्नाले पुण्य प्राप्त हुने धार्मिक विश्वास रहेको छ ।
पशुपति मन्दिरलाई यतिबेला बिजुलीका झिलीमिली बत्तीहरु, रङरोदन र फूलहरुले सजाउन थालिएको छ ।शिवरात्रीको लागि पशुपतिका गेटहरु सजाउने कार्य जारी रहेको छ।
मन्दिर वरपरका क्षेत्रहरुमा सरसफाईको कार्य जारी रहेको छ ।















प्रतिक्रिया दिनुहोस्