गस्तीका क्रममा प्रहरीमाथि खुकुरी प्रहार, २ जना घाइते

काठमाडौं। झापाको भद्रपुर नगरपालिका–४ स्थित पुरी चोकमा गएराती गस्तीमा रहेका प्रहरीमाथि आक्रमण भएको छ। आक्रमणका क्रममा खुकुरी लागेर २ प्रहरी घाइते भएका छन्।

इलाका प्रहरी कार्यालय दमक दरबन्दी भइ प्रहरी चौकी महेशपुरमा कार्यरत प्रहरी सहायक निरीक्षक प्रकाश खवास र प्रहरी चौकी चारआली दरबन्दी भइ सोही कार्यालयमा कार्यरत प्रहरी जवान पुण्यप्रसाद पोखरेल घाईते भएको प्रहरीले जनाएको छ।

पुराणको आयोजना गरिएको पुण्यप्रसाद पुरीको घरमा गस्ती जाँदै गर्दा मादक पदार्थ सेवन गरेका स्थानीय ३५ वर्षीय सुवास राइले प्रहरीलाई खुकुरी प्रहार गरेको जनाइएको छ।

घाइते दुवै प्रहरीको विएनसी अस्पताल विर्तामोडमा उपचार भइरहेको छ भने राईलाई नियन्त्रणमा लिइएको वडा प्रहरी कर्यालय भद्रपुरले जनाएको छ।

यसैगरी, धनकुटाको पाख्रिवास नगरपालिका–८ का ३५ वर्षीय प्रकाश राईलाई स्थानीय रिट्ठे भन्ने धन बहादुर राइले खुकुरी प्रहार गरी घाईते बनाएका छन्।

सामान्य विवाद भएपछि प्रकाशमाथी खुकुरी प्रहार भएको र गम्भिर घाईते भएका उनलाई उपचारका लागि धरानस्थित विपी कोइरला स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाइएको छ। फरार रहेका धनबहादुरको खोजी भइरहेको इलाका प्रहरी कार्यालय पाख्रिवासले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्