४ लाख ३५ हजार नक्कली नोटसहित दुई पक्राउ

काठमाडौं, माघ २२ ।  सशस्त्र प्रहरी बलको इन्टेलिजेन्स ब्युरोले सिरहाबाट ४ लाख ३५ हजार नेपाली नक्कली रुपैयाँसहित दुई जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा लहान नगरपालिका-१९ का ३० वर्षीय मोहम्मद ओसिन र लहान नगरपालिका-१० का २२ वर्षीय मोहम्मद राज शेख रहेका छन् ।

सिरहाको लहान नगरपालिका-८ स्थित पशुपति माध्यमिक विद्यालय नजिकबाट उनीहरू पक्राउ परेका हुन् ।

विशेष सूचनाको आधारमा नियन्त्रणमा लिइएका उनीहरुको साथबाट चार सय पैंतिस थान एक हजार दरका नक्कली नोट, नोट बनाउन प्रयोग गरिने कागजको बन्डल, दुई थान मोबाइल सेट, ७ थान सिमकार्ड तथा एक हजार पचपन्न रुपैयाँ समेत बरामद भएको सशस्त्र प्रहरीका सहायक प्रवक्ता शैलेन्द्र थापाले जानकारी दिनुभयो ।

उनीहरुलाई बरामद सामानसहित आवश्यक कारबाहीका लागि इलाका प्रहरी कार्यालय लाहानमा बुझाइएको छ ।

प्रतिक्रिया दिनुहोस्