वृद्धभत्ताको पैसा नदिएपछि बञ्चरो प्रहार गरी आमाको हत्या

काठमाडौं, माघ १७ । वृद्धभत्ताको पैसा नदिएपछि कैलालीमा छोराले बञ्चरो प्रहार गरी आमाको हत्या गरेका छन्।

मंगलबार लम्कीचुहा नगरपालिका–६ का ४० वर्षीया श्रीराम थारुले ७१ वर्षीया आमा लगनीदेवी थरुनीलाई बञ्चरो प्रहार गरेर हत्या गरेका कैलाली प्रहरीले जनाएको छ।

बञ्चरो प्रहारबाट गम्भीर घाइते लगनीदेवीको धनगढीको नवजीवन अस्पतालमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायब उपरीक्षक वेदप्रकाश जोशीले जानकारी दिए।

श्रीरामले वृद्धभत्ताको रकम नदिएको भन्दै आमालाई बञ्चरोले ढाड र खुट्टामा प्रहार गरेका थिए।

प्रहरीले श्रीरामलाई पक्राउ गरेर थप अनुसन्धान गरिरहेको जनाएको छ। श्रीराम यसअघि पनि ज्यान मुद्दामा पाँच वर्ष कारागार बसेको अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्