स्थानीय तहमा कर्मचारी अभावमा सेवा प्रभावित : बैतडीका ४२ वडाहरु सचिवविहीन

काठमाडौं  । स्थानीय तहको निर्वाचन भएको नौ महिना पूरा भइसक्दासमेत स्थानीय तहमा कर्मचारी अभावमा सेवा प्रभावित हुने गरेको छ ।

सिंहदरबारको सेवा गाउँघरमै पाउने आश गरेका नागरिकले पहिला गाउँमा सजिलै पाउने सेवा पाउनसमेत असजिलो सहसुस गर्न थालेका छन् ।

बैतडीका ८४ वडामध्ये ४२ वडा सचिवविहीन रहेका छन् । जिल्लाको शिवनाथ गाउँपालिकाका छवटै वडामा सचिव नभएको शिवनाथ गाउँपालिकाका अध्यक्ष कर्णसिंह साउदले बताए । उनले भने “वडामा सचिव नहुँदा व्यक्तिगत घटना दर्ताका काम रोकिएका छन् ।”

यस्तै, पञ्चेश्वर गाउँपालिकाका छ वडामध्ये तीन वडामा मात्रै सचिव रहेका र भएका सचिव पनि सदरमुकाममै बस्ने गरेको गाउँपालिका अध्यक्ष गोरखबहादुर चन्दले जानकारी दिए । उनले भने “कर्मचारीको अभावमा आफूहरुले चाहेअनुसारको काम गर्न सकेका छैनौँ ।”

सिगास गाउँपालिकाका ९ वडामध्ये ७ मा सचिव नभएको गाउँपालिकाका अध्यक्ष हरिसिंह धामीले बताए । उनले भने “सचिवको अभावमा साह्रै समस्या भएको छ।”

उता पुरचौडी नगरपालिकाका १० मध्ये सात वडामा सचिव नभएका नगरपालिकाका प्रवक्ता गौतमप्रसाद भट्टले बताए ।

यस्तै, डिलासैनी गाउँपालिका–७ वडामध्ये चार वडामा सचिव छैनन् भने सुर्नया गाउँपालिकाका तीन वडामा सचिव छैनन् । पाटन नगरपालिकाका ३ वडा, मेलौलीका पाँच वडा र दशरथचन्द नगरपालिकाका दुई वडामा सचिव नभएका सम्बन्धित स्थानीय तहले जनाएका छन् ।

प्रतिक्रिया दिनुहोस्