सिपमूलक तालिम सम्पन्न

काठमाडौँ, १० माघ –  महिला वगलाई आर्थिक रुपमा सशक्तिकरण गर्ने
उद्देश्यले सिपमूलक तालिम सम्पन्न गरिएको छ । काठमाडौँ महानगरपालिका–१४ को सहकार्य तथा श्री सक्षम नारी नेपालको
आयोजनामा अचार र जाम बनाउने पाँच दिने तालिम सम्पन्न गरिएको हो ।

तालिममा ३२ जना सहभागीलाई कागती, मुला, काउली, खुर्सानीको अचार तथा स्याउको जाम बनाउन सिकाइएको थियो । व्यवसायिक रुपमा ती वस्तुको उत्पादनका साथै बजारमा बिक्री गरी उनीहरुको आय वृद्धि गर्ने लक्ष्य राखिएको छ ।
सानो पूँजीबाट सञ्चालन हुने यस्ता उत्पादनको स्वदेश तथा विदेशमा समेत राम्रो माग पाईएको छ । सैद्धान्तिक र प्रयोगात्मक ज्ञान उपलब्ध गराइएको तालिममा श्री सक्षम नारी नेपालका अध्यक्ष गोमा बिडारीले सहभागीलाई प्रशिक्षण दिनुभएको थियो ।

काठमाडौँ महानगरपालिका–१४ वडाध्यक्ष सुमन श्रेष्ठले सहभागीलाई प्रमाणपत्र वितरण गर्दै घरेलु सिपलाई व्यवसायिक रुपमा प्रयोग गर्न सकेमा समाजमा महिलाहरुको आर्थिक क्षेत्रमा पहुँच अभिवृद्धि हुने बताउनभयो ।
बहुजातीय, बहुभाषिक र बहुसांस्कृतिक राष्ट्रमा सबै जातजाति मुदायले सिपमूलक तालिमका माध्यमबाट रोजगार वढाउन सक्ने विचार व्यक्त गर्दै स्थानीय तहले पनि महिला सशक्तिकरणका लागि सक्दो सहयोग गर्ने उल्लेख गर्नुभयो ।

अध्यक्ष श्रेष्ठले आफ्नो वडामा महिला उद्यमशीलताका लागि सहयोग उपलब्ध गराउन आफू प्रतिबद्ध रहेको जनाउनुभयो ।
विविधताले भरिएको नेपाली समाजमा फरक उत्पादन बढाएर महिलालाई आर्थिक रुपमा सम्पन्न गर्नुपर्नेमा जोड दिँदै महिलाको उन्नती हुँदा घर परिवार र समाजको प्रगति हुने विचार व्यक्त गर्नुभयो ।

उहाँले हिमाल, पहाड र तराईका जनताको भावनालाई एकापसमा जोडने, पारस्पारिक सम्मान, सहिष्णुता, सद्भाव र एकतालाई अझ बलियो बनाउने सकिने बताउँदै आफ्नो संस्थाले विभिन्न चाडपर्वमा परम्परागत मौलिक संस्कृतिको जगेर्नाका लागि कार्यक्रम गर्दै आएको जानकारी गराउनुभयो ।

 

प्रतिक्रिया दिनुहोस्