बुद्ध एयरले हवाई उडानलाई थप सुरक्षित बनाउने

काठमाडौं, माघ ८ ।  बुद्ध एयरका प्रवन्ध निर्देशक वीरेन्द्रबहादुर बस्नेतले बुद्ध एयरले हवाई उडानलाई थप सुरक्षित बनाउनेगरी काम थालनी गरेको बताएका छन्।

आईतवार बुद्ध एयर विमानको मर्मतसम्भार र सञ्चालन सम्बन्धी अन्तरक्रिया कार्यक्रममा बोल्दै प्रवन्ध निर्देशक बस्नेतले हवाई यात्रालाई थप सुरक्षित बनाउन भविष्यमा आउन सक्ने चुनौतिको सामना गर्नेगरी काम गरिरहेको बताएका हुन। उनले नेपालको निजी हवाई सेवा प्रदायक कम्पनी बुद्ध एयर विमानको मर्मतसम्भार र सञ्चालनका हिसावले सुरक्षित रहेको बताए।

उनले बुद्ध एयरको मुख्य उद्देश्य भनेको नै वित्तीय कारोबार तथा सूचनालाई पारदर्शीता राख्ने भएको बताए। उनले बुद्ध एयरले गत माघ १ गते भएको हवाई दुर्घटनापछि हवाई उडानलाई थप सुरक्षित बनाउनको लागि विमान मर्मत लगायतका विषयमा थप कडाईका साथ काम थालनी गरेको जानकारी दिए। उनले नेपालमा पछिल्लो समय भइरहेका हवाई दुर्घटनाले थप चुनौति थपेकाले त्यस्तो दुर्घटना हुन नदिन विषयमा बुद्ध एयर सचेत रहेको धारणा राखे। बस्नेतले बुद्ध एयरले कुनैपनि प्राविधिक तथा अन्य सूचनाहरु लुकाउने नगरको जानकारी दिए ।

उनले हवाई उडान,उडानको प्राविधि पक्षको विषयमा नागरिक उड्डयनसँग निरन्तर सहकार्य रहेको भन्दै हवाई उडानका हरेक काम गर्दा प्राधिकरणसँग सहकार्य र जानकारी गर्ने गरेको बताए। प्रवन्ध निर्देशक बस्नेतले बुद्ध एयरको २५ वर्षको अनुभवमा नागरिक उड्डयनसँगको सहकार्य युनिक र फलदायी रहेको जानकारी दिए।

बुद्ध एयरले हवाई दुर्घटना बढ्दै जाँदा विमानहरु धेरै वर्ष पुराना विमानहरु नेपालमा ल्याएर उडान भर्ने गरेको भन्दै बाहिर आवाज उठेको छ। तर अन्तरक्रिया कार्यक्रममा जानकारहरुले विमानहरु पुराना नहुने बताएका छन्। उनीहरुले विमानका पार्टपुर्जा पुरानो हुने भएकाले निश्चित समयमा पार्टपुर्जा परिवर्तन गरी हवाई उडान गर्नुपर्ने बताएका छन्। अन्तरक्रियामार्फत बुद्ध एयरले हवाई उडानलाई सुरक्षित बनाउनको लागि विमान मर्मत र पार्टपुर्जाको लागि अर्बौं लगानी गरेको बताएको छ।

प्रतिक्रिया दिनुहोस्