छुट्टाछुट्टै सवारी दुर्घटनामा पाँच जनाको मृत्यु
काठमाडौं, माघ ६ । देशका विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा पाँचजनाले ज्यान गुमाएका छन्।
नेपाल प्रहरीका अनुसार दाङको राप्ती गाउँपालिका-८ पिपरीस्थित सडकमा रा.१ क २०९ नम्बरको ट्रकको ठक्करबाट साइकलयात्री त्यही ठाउँका ७० वर्षीय कृष्ण बहादुर बस्नेतको बिहीबार दिउँसो मृत्यु भएको छ।
ठक्करबाट गम्भीर घाइते भएका उनको स्थानीय मेडिकल सिसहनिया हुँदै लुम्बिनी सिटी अस्पताल बुटवलमा थप उपचारको क्रममा मृत्यु भएको हो। ट्रक र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।
बर्दिया, बारबर्दिया नगरपालिका-८ औरीबजारस्थित सडकमा भे १ च ४३१६ नम्बरको पिकअप गाडीको ठक्करबाट सोही ठाउँ बस्ने अमृत शाहीको छोरी २ वर्षीया आकाङ्क्षा शाहीको बिहीबार दिउँसो मृत्यु भएको छ।
ठक्करबाट गम्भीर घाइते भएकी उनको मेडिकल कलेज कोहलपुरमा उपचारको क्रममा मृत्यु भएको हो। गाडी र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।
सप्तरी, शम्भुनाथ नगरपालिका-१२ डेरा पोखरीस्थित सडकमा प्रदेश २-०१-००२ प ५०५२ नम्बरको मोटरसाइकल आफैँ अनियन्त्रित भई बिहीबार राति दुर्घटना हुँदा चालक विष्णुपुर गाउँपालिका-७ विष्णुपुर टोल बस्ने ४७ वर्षीय मात्रिका प्रसाद यादवको मृत्यु भएको छ।
दुर्घटनामा गम्भीर घाइते भएका उनको गजेन्द्र नारायण सिंह अस्पताल राजविराजमा उपचारको क्रममा मृत्यु भएको हो।
बाँकेको नेपालगञ्ज उपमहानगरपालिका-१० गणेशमान चोकमा नेपालगञ्ज बजारबाट जमुनाहतर्फ जाँदै गरेको युपी ४० भि ६४३९ नम्बरको मोटरसाइकल बिहीबार राति दुर्घटना हुँदा चालक भारत घर भएका ४० वर्षीय मोहमद यासिनको मृत्यु भएको छ।
दुर्घटनामा गम्भीर घाइते भएका उनको नर्सिंङहोम नेपालगंजमा उपचारको क्रममा मृत्यु भएको हो।
मोरङको सुन्दरहरैँचा नगरपालिका-१० खोर्साने छेउस्थित सडकमा को ३४ प ७२५१ नम्बरको स्कुटरको ठक्करबाट पैदलयात्री सोही नगरपालिका-१० बस्ने ३८ वर्षीय पूर्णबहादुर गुरुङको बिहीबार साँझ मृत्यु भएको छ।
ठक्करबाट गम्भीर घाइते भएका उनको नोबेल अस्पताल विराटनगरमा उपचारको क्रममा मृत्यु भएको हो।
दुर्घटनामा घाइते भएका स्कुटर चालकको त्यही अस्पतालमा उपचार भइरहेको छ। दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ।
प्रतिक्रिया दिनुहोस्