फ्रान्स पठाइदिने भन्दै १९ लाख रुपैयाँ ठगी, एकजना पक्राउ

काठमाडौं, माघ ४ ।  फ्रान्स पठाइदिन्छु भन्दै प्रलोभनमा पारी १९ लाख रुपैयाँ ठगी गरेको अभियोगमा एकजना पक्राउ परेका छन्।

प्रहरीले काठमाडौंको चन्द्रागिरी नगरपालिका-५ सतुङ्गल बस्ने तनहुँ शुक्लागण्डकी नगरपलिका-८ घर भएका ४६ वर्षीय तेजेन्द्र महतलाई बुधबार दिउँसो पक्राउ गरेको हो।

महतले वैदेशिक रोजगारीमा फ्रान्स जान प्रतिव्यक्ति १० लाख रुपैयाँ लाग्छ भनेर ठगी गरेको खुलेको छ।

उनले फ्रान्स पुगेपछि प्रतिष्ठित कृषि कम्पनीमा फ्रुटकिपिङको काम लागइदिने भन्दै प्रलोभनमा पारी ३ जनाबाट १९ लाख रुपैयाँ ठगी गरेको उजुरी वैदेशिक रोजगार विभागमा परेको थियो।

विभागले पत्राचार गरेपछि काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको प्रहरीले चन्द्रागिरी नगरपलिका-५ सतुङ्गलबाट उनलाई पक्राउ गरेको हो।

महतलाई थप अनुसन्धान तथा कारवाहीका लागि वैदेशिक रोजगार विभाग बुद्धनगर पठाइएको महाशाखाले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्