मेलम्चीको पानी नआएको भन्दै कोटेश्वरका स्थानीयले बुझाए ज्ञापनपत्र

काठमाडौं,पुस १८ ।  कोटेश्वरको महादेवस्थानमा मेलम्चीको पाइप लाइनमा खानेपानी नआएको भन्दै स्थानीयले मेलम्ची खानेपानी आयोजना कार्यान्वयन निर्देशनालयमा ज्ञापनपत्र बुझाएका छन् ।

आज सोमवार कोटेश्वर महादेवस्थानका स्थानीयले अन्य क्षेत्रमा मेलम्चीको नयाँ लाइनमार्फत आएको पानी बढी भएर खेर जाँदा समेत आफ्नो क्षेत्रमा पानी पाइप लाइनबाट हाइटमा नचढ्दा घरमा पानी नपुगेको भन्दै मेलम्ची खानेपानी आयोजना कार्यान्वयन निर्देशनालयमा ज्ञापनपत्र बुझाएका हुन् ।

कोटेश्वर महादेवस्थानका स्थानीय गोविन्दराज पन्तले मेलम्चीको पानी चारैतिर बढी भएर फाल्दा समेत आफ्नो क्षेत्रमा पानी नचढेको भन्दै समस्याको समाधानका लागि निर्देशनालयलाई ध्यानाकर्षण गराएको बताएका छन् । उनले खानेपानीको समस्या समाधान नभए ठेकेदारको समेत घर घेर्ने चेतावनी दिए । उनले आयोजनाको पाइपमा पानी नचढे स्थानीयले पाइप दिने बताए ।

मेलम्ची खानेपानी आयोजना कार्यान्वयन निर्देशनालय (पीआईडी) का प्रोजेक्ट डाइरेक्टर राजेन्द्र सापकोटाले कोटेश्वर हाइट क्षेत्रमा जोडिएको सिस्टमले हाइटमा पानी नपुग्ने भएकाले नयाँ पाइपलाइन बनाएको बताए । उनले पुरानो लाइनमा नयाँ पाइपबाट पानी पठाए पनि हाइटमा र टाढा भएको घरमा पानी पुग्न नसक्ने बताउए । समस्या समाधानका लागि अध्ययन गरेर माग सम्बोधन गर्ने उनको भनाइ छ ।

ध्यानाकर्षणपछि कोटेश्वर महादेवस्थानका स्थानीय र मेलम्ची खानेपानी आयोजना कार्यान्वयन निर्देशानालयबीच खानेपानीको समस्या समाधानमा चार बुँदे सहमति भएको छ ।

एक हप्तामा पानी वितरण हुने सहयोगी नगर क्षेत्र, दुई हप्ताभित्र पानी सञ्चालन हुने क्षेत्र धर्मस्थल मार्ग, महादेवस्थान कोटेश्वर वरिपरिको क्षेत्र, स्थानीयको माग बमोजिम पुरानो पाइपबाट पानी सञ्चालनका लागि तीन दिनभित्र काठमाण्डौ खानोपानी आयोजनालाई पत्राचार गर्ने र सिधा लाइनका लागि अध्ययन सक्ने, नयाँ सञ्जालबाट दुई हप्ताभित्र पानी नआएमा पानी वितरण गर्ने लाइनमा सिधा पाइप जडान गरेर पानी वितरण गर्ने सहमति भएको छ ।

प्रतिक्रिया दिनुहोस्