आर्थिक सशक्तिकरणका लागि निःशुल्क व्यूटिसियन तालिम प्रदान
काठमाडौँ, ६ पुस । महिला वर्गको आर्थिक सशक्तिकरणका लागि निःशुल्क व्यूटिसियन तालिम प्रदान गरिएको छ ।
लायन्स क्लव काठमाडौँ सिद्विले स्वरोजगार कार्यक्रमअन्तर्गत १५ दिने तालिम सम्पन्न गरेको हो । सौन्दर्यकलाका प्रारम्भिक विषयवस्तु सम्बन्धी सैद्धान्तिकका साथै व्यवहारिक ज्ञान प्रदान गरिएको उक्त तालिममा १८ प्रशिक्षार्थी सहभागी थिए । प्रशिक्षकका रुपमा अनिता खडका रायमाझी र पूजा लामाले प्रशिक्षार्थीलाई तालिम दिनुभएको हो ।
समापन समारोहमा काठमाडौँ महानगरपालिका– १४ का सदस्य शोभा कार्कीले महिलालाई आत्म निर्भर बनाउन तथा स्वावलम्बनसम्बन्धी तालीममा वडाले सक्दो सहयोग गर्ने विश्वास व्यक्त गर्नुभयो ।
नेपाल पत्रकार महासंघ काठमाडौँ कार्यसमिति सदस्य कृष्णराज गौतम, क्लबका ३२५ के डिस्ट्रक गभर्नर राजेन्द्रकुमार बटाजु, प्रथम डिस्ट्रक गभर्नर सुमित्रा थापा, दोस्रो डिस्ट्रक गभर्नर निरा बज्राचार्य, व्यवसायी सुमित्रा रञ्जित, सुरेन्द्रबाबु श्रेष्ठले रोजगारी सिर्जना गर्ने उद्देश्यले महिलालाई व्यवसायिक सिपमूलक तालीम प्रदान गरेकामा आयोजक संस्थाको प्रसंशा गर्दै सामाजिक रुपान्तरणमा महिला सशक्तिकरणको महत्वपूर्ण भूमिका रहको बताउनुभयो ।
कार्यक्रम आयोजक संस्थाका अध्यक्ष पूजा लामा, कोषाध्यक्ष इनु देवकोटा, सक्षम नारी नेपालका अध्यक्ष गोमा बिडारीले महिलाको आर्थिक पहुँच वृद्धि गर्न व्यवसायिक तालीमको महत्व रहेको उल्लेख गर्नुभयो ।
प्रशिक्षार्थी साधना सापकोटाले तालीमबाट प्राप्त गरेको ज्ञान, सिपबाट आफूहरु लाभान्वित भएकाले त्यसलाई व्यवसायिक रुपमा उपयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
प्रतिक्रिया दिनुहोस्