युवावर्ग विदेशिने क्रम बढ्दै , दैनिक करिब तीन हजार विदेशतिर

काठमाडौं, मंसिर २२ । वैदेशिक रोजगारीका सिलसिलामा दैनिक झण्डै तीन हजार युवा विदेश जाने गरेको पाइएको छ।

वैदेशिक रोजगार विभागले पछिल्लो समय करिब तीन हजार नेपाली युवायुवती रोजगारीको खोजीमा विदेश जाने गरेको जानकारी गराइएको छ। वैदेशिक रोजगारीमा जाने नेपाली युवाहरूको संख्या पछिल्लो समय बढ्दै गएको छ।

विभागका निर्देशक कृष्णप्रसाद भुसाल हरेक दिन विदेश जानेको संख्या अत्यधिक रूपमा बढ्दै गएको बताए। दिनप्रति दिन देशमा रोजगार नहुँदा युवावर्ग विदेशिने क्रम बढ्दै गएको भुसालले जानकारी दिए।

वैदेशिक रोजगारीमा जानेको संख्या दिनदिनै बढिरहेको भूसालले बताए। वैदेशिक रोजगारीको लागि मंसिर ११ गते २ हजार ६ सय ६० जना गएका मध्ये २ हजार ३ सय ९८ पुरुष र २ सय ६२ जना महिला रहेको विभागका निर्देशक भुसालले बताए।

त्यस्तै मंसिर १२ गते गएका ३ हजार १ सय ९५ जनामध्ये २ हजार ८ सय ५६ पुरुष र ३ सय ३९ जना महिला रहेका छन्। मंसिर १३ गते गएका २ हजार २ सय ८६ जनामध्ये २ हजार ७३ जना पुरुष र २ सय १३ जना महिला विदेश पलायन भएका छन्।

त्यसरी नै मंसिर १४ गते २ हजार ६ सय २ जना वैदेशिक रोजगारीमा गएकामध्ये २ हजार ३ सय ६३ जना पुरुष र २ सय ३९ जना महिला रहेको जानकारी भुसालले दिए।

उनका अनुसार विदेशबाट नेपाली कामदारको माग बढ्न थालेपछि श्रम स्वीकृति लिने र वैदेशिक रोजगारीका लागि उड्नेको संख्या बढ्न थालेको हो।

प्रतिक्रिया दिनुहोस्