छुट्टाछुट्टै सवारी दुर्घटनामा चार जनाको मृत्यु

काठमाडौं, कार्तिक ३० ।  देशका विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा चार जनाको मृत्यु भएको छ।

झापाको कन्काई नगरपालिका–७ दुर्गापुरस्थित सडकमा को.१ ख ६७९४ नम्बरको बसले मे.७ प ५०९२ नम्बरको मोटरसाइकललाई मंगलबार ठक्कर दिँदा दुई जनाको मृत्यु भएको हो।

मृत्यु हुनेमा मोटरसाइकल चालक अर्जुनधारा नगरपालिका–६ बस्ने ५२ वर्षीय नरेन्द्र मैनाली र मोटरसाइकलमा सवार उनकी श्रीमती ५० वर्षीया सीता देबी मैनाली छन्।

दुर्घटनामा गम्भीर घाइते भएका उनीहरूको बिएण्डसी अस्पताल बिर्तामोडमा उपचारको क्रममा मृत्यु भएको हो। बस चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

महोत्तरीको बर्दिबास नगरपालिका–१२ अकनटोलस्थित सडकमा ना.८ ख ५३३५ नम्बरको टिपरले ज.१२ प ३००६ नम्बरको मोटरसाइकललाई मंगलबार ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ।

मृत्यु हुनेमा मोटरसाइकल चालक धनुषा मिथिला नगरपालिका–८ बस्ने २१ वर्षीय विजय कुमार महतो कोईरी छन्।

दुर्घटनामा गम्भीर घाइते भएका उनको जनसेवा हस्पिटल बर्दीवासमा उपचारको क्रममा मृत्यु भएको हो। दुर्घटनामा घाइते भएका मोटरसाइकलमा सवार एक जनाको काव्या अस्पताल जनकपुरमा उपचार भइरहेको छ। हाल फरार टिपर चालकको प्रहरीले खोजी गरिरहेको छ।

नवलपरासी(पश्चिम)को रामग्राम नगरपालिका–१० मंझरियास्थित सडकमा हाल नम्बर नखुलेको ट्रयाक्टरले लु.८३ प ३०८२ नम्बरको मोटरसाइकललाई मंगलबार ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ।

मृत्यु हुनेमा मोटरसाइकल चालक पाल्पा तिनाउ गाउँपालिका–६ घर भएका ३७ वर्षीय सर बहादुर चिदी छन्। दुर्घटनामा गम्भीर घाइते भएका उनको जिल्ला अस्पताल परासी हुँदै भैरहवामा थप उपचारको क्रममा मृत्यु भएको हो।

दुर्घटनामा घाइते भएका मोटरसाइकलमा सवार दुई जनालाई मेडिकल कलेज भैरहवा लगिएकोमा एक जना उपचार पश्चात् डिस्चार्ज भएका छन्। हाल फरार ट्रयाक्टर चालकको प्रहरीले खोजी गरिरहेको छ।

प्रतिक्रिया दिनुहोस्