अवैध लागूऔषध सहित छुट्टाछुट्टै स्थानबाट ९ जना पक्राउ

काठमाडौं, कार्तिक २४ ।  देशका विभिन्न स्थानबाट अवैध लागूऔषधसहित ९ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

कैलालीको भजनी नगरपालिका–३ कुसुमघाटबाट दुई ग्राम खैरो हेरोइनसहित जोशीपुर गाउँपालिका–२ बडरिया बस्ने २३ वर्षीय रोहन मिश्रलाई बुधबार प्रहरीले पक्राउ गरेको छ ।

इलाका प्रहरी कार्यालय भजनीबाट खटिएको प्रहरीले साइकलमा सवार उनलाई जाँच गर्ने उक्त पदार्थ सहित फेला पारी पक्राउ गरेको हो ।

कास्कीको पोखरा महानगरपालिका–२७ अर्घौ चोकबाट नियन्त्रित लागूऔषध नुर्फिन ३२ एम्पुल, फेनारगन ३२ एम्पुल, डाइजेपाम ३२ एम्पुल र नगद १२ हजार रुपैयाँ सहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सोही महानगरपालिका–३० तावामुख बस्ने ३५ वर्षीय हेमन्त थापा मगर छन् । उनलाई बुधबार साँझ प्रहरीले पक्राउ गरेको हो ।

इलाका प्रहरी कार्यालय शिशुवाबाट खटिएको प्रहरीले ग.१७ प ५७७१ नम्बरको स्कुटरलाई जाँच गर्ने क्रममा उक्त लागूऔषध सहित फेला पारी स्कुटर चालक हेमन्तलाई पक्राउ गरेको हो ।

बझाङको जयपृथ्वी नगरपालिका–७ सुबेडा घर भएका ५४ वर्षीया जगु गिरीलाई ४६० ग्राम चरेशसहित बुधबार साँझ प्रहरीले पक्राउ गरेको छ ।

उनले लागूऔषध बिक्री गरिरहेको भन्ने खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय बझाङबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।

मोरङको विराटनगर महानगरपालिका–१५ स्थित एक नम्बर ढाँटबाट ३१२ ग्राम ब्राउनसुगरसहित सुन्दरहरैचा नगरपालिका–१० बस्ने २४ वर्षीय सौगात राईलाई बुधबार प्रहरीले पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण व्यूरो विराटनगरबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित फेला पारी पक्राउ गरेको हो ।

झापाको भद्रपुर नगरपालिका–५ मेचीपुल छेउबाट ३ ग्राम ६ सय ६० मिलिग्राम ब्राउनसुगरसहित मेचीनगर नगरपालिका–१३ चारआली बस्ने २३ वर्षीय सन्दीप गौतम समेत दुई जनालाई बुधबार प्रहरीले पक्राउ गरेको छ । अस्थाई प्रहरी पोष्ट मेचीपुलबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित फेला पारी पक्राउ गरेको हो ।

तनहुँको आँबुखैरेनी गाउँपालिका–४ बेनिटारबाट नियन्त्रित लागूऔषध डाइजेपाम ५९ एम्पुल, फेनारगन ५९ एम्पुल र नुर्फिन ६० एम्पुल सहित व्यास नगरपालिका–४ बस्ने १८ वर्षीय किशोरलाई गएराति प्रहरीले पक्राउ गरेको छ । अस्थाई प्रहरी पोष्ट मुग्लिन पुलजिपबाट खटिएको प्रहरीले भैरहवाबाट पोखरातर्फ आउँदै गरेको लु.१ ख ८५९५ नम्बरको बसलाई जाँच गर्ने क्रममा उक्त लागूऔषध सहित फेला पारी बसमा सवार उनलाई पक्राउ गरेको हो ।

पर्साको वीरगन्ज महानगरपालिका–१६ शंकराचार्य गेटबाट नियन्त्रित लागूऔषध नाइट्राभेट २ हजार ३ सय ९८ पिससहित ललितपुर महानगरपालिका–१४ बस्ने ४४ वर्षीय रमेश चित्रकार र उनकी श्रीमती ३० वर्षीया मिना घलेलाई बुधबार प्रहरीले पक्राउ गरेको छ ।

प्रहरी चौकी इनर्वाबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा उक्त लागूऔषध सहित फेला पारी उनीहरूलाई पक्राउ गरेको हो ।

प्रतिक्रिया दिनुहोस्