६ प्रतिशत बढ्यो बैंकहरूको नाफा, ११ बैंकको घट्यो
काठमाडौं, कार्तिक १४ । चालु आर्थिक वर्षको पहिलो तीन महिनामा वाणिज्य बैंकहरुले करिब ६ प्रतिशतको हाराहारीमा मात्र नाफा कमाएका छन्।
सधै नाफा कमाउने भनेर आरोप लागिरहे पनि चालु आर्थिक वर्षको पहिलो तीन महिनामा भने वाणिज्य बैंकहरुले गत आर्थिक वर्षको पहिलो त्रैमासको तुलनामा निकै कम मात्र नाफा कमाएका हुन्।
वाणिज्य बैंकहरुले जारी गरेको अपरिष्कृत वित्तीय विवरण अनुसार २६ वटा वाणिज्य बैंकमध्ये ११ वटा वाणिज्य बैंकहरुको नाफा गत आर्थिक वर्षको तीन महिनाको तुलनामा चालु आर्थिक वर्षको तीन महिनामा नाफा घटेको छ।
बाँकी १५ वटा वाणिज्य बैंकले मात्र कमाएको देखिए पनि एनसीसी बैंकले भने खासै कमाएको देखिँदैन। गत आर्थिक वर्षको पहिलो महिनामा ५१ करोड रुपैयाँ कमाएको थियो भने गत असोज मसान्तसम्ममा पनि ५१ करोड रुपैयाँ नै कमाएको देखिएको छ।
त्यस्तै चालु आर्थिक वर्षको असोज मसान्तसम्ममा सबैभन्दा धेरै कमाउने बैंकमा एनआईसी एसिया नै रहेको छ। सो बैंकले गत आर्थिक वर्षको पहिलो त्रैमासको तुलनामा गत असोज मसान्तसम्ममा ४८.३० प्रतिशतले नाफा बढाएर १ अर्ब ७५ करोड रुपैयाँ पुर्याएको छ।
त्यस्तै दोस्रो स्थानमा भने नबिल बैंक रहेको छ। नबिलले पनि चालु आर्थिक वर्षको असोज मसान्तसम्ममा १ अर्ब ५७ करोड रुपैयाँ नाफा कमाएको छ। जुन गत आर्थिक वर्षको तुलनामा ४१.४४ प्रतिशतले बढी हो।
त्यस्तै तीन महिनामा सबैभन्दा बढी नाफा घट्ने बैंकमा भने सनराइज् बैंक रहेको छ। सो बैंकले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा १६ करोड रुपैयाँ मात्र नाफा कमाएको छ। जुन गत आर्थिक वर्षको पहिलो तीन महिनाको तुलनामा ६२.७९ प्रतिशतले कम हो।
त्यस्तै सबैभन्दा बढी नाफा घट्ने बैंकमा कृषि विकास बैंक रहेको छ। सो बैंकको नाफा गत आर्थिक वर्षको पहिलो तीन महिनाको तुलनामा ५४.१६ प्रतिशतले कमी आई जम्मा २२ करोड रुपैयाँ मात्र नाफा कमाएको छ।
४० प्रतिशतभन्दा बढी नाफा घट्नेमा चार बैंक
गत आर्थिक वर्षको पहिलो त्रैमासको तुलनामा ४० प्रतिशतभन्दा बढी नाफा घट्ने बैंकहरुमा सनराइज्, सिद्धार्थ, मेगा, कृषि विकास बैंक रहेका छन्। उनीहरुको नाफामा क्रमश: ६२.७९, ४७.८७, ४५.०५ र ५४.१६ प्रतिशतले कमी आएको छ।
सातवटा बैंकले कमाए ४० प्रतिशतभन्दा बढी नाफा
४० प्रतिशतभन्दा बढी नाफा कमाउने बैंकहरुमा सिभिल, नेपाल एसबीआई बैंक, स्ट्यान्डर्ड चार्टड र एभरेष्ट बैंक रहेका छन्। ती बैंकहरुले क्रमशः ४१.३, ६७.५६, ६८.५७ र ५०.८७ प्रतिशत रहेको छ। त्यस्तै कुमारी , एनआईसी एसिया र नविल बैंकले पनि ४० प्रतिशत भन्दा बढी नाफा कमाएका छन्। ती बैंकहरुले गत आर्थिक वर्षको तुलनामा क्रमशः ८५.१८, ४८.३० र ४१.४४ प्रतिशत नाफा कमाएका छन्।
प्रतिक्रिया दिनुहोस्