विभिन्न स्थानबाट लागूऔषधसहित ७ जना पक्राउ

काठमाडौं, असोज ५ ।  देशका विभिन्न स्थानबाट लागूऔषधसहित प्रहरीले ७ जनालाई पक्राउ गरेको छ।

तनहुँको आँबुखैरेनी गाउँपालिका–४ बेनिटारस्थित सडकबाट करिब २२ किलोग्राम गाँजासहित सोही गाउँपालिका–४ बस्ने ३५ वर्षीया जगमाया गुरूङ लगायत ३ जनालाई बुधबार बिहान प्रहरीले पक्राउ गरेको छ।

काँकडभिट्टाबाट पोखरातर्फ आउँदै गरेको मे.१ ख ३१९५ नम्बरको बसलाई अस्थाई प्रहरी पोष्ट मुग्लिनबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा बसमा सवार उनीहरूलाई उक्त गाँजा सहित पक्राउ गरेको हो।

दैलेखको नारायण नगरपालिका–१ टुडिखेलबाट २९० मिलिग्राम ब्राउनसुगरसहित सोही नगरपालिका–२ कुसाडा बस्ने ३० वर्षीय रोबट सिजापतीलाई मंगलबार साँझ प्रहरीले पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय दैलेखबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित फेला पारी पक्राउ गरेको हो।

कैलालीको गौरीगंगा नगरपालिका–८ बडैपुरबाट करिब ३ ग्राम ब्राउनसुगरसहित सोही ठाउँ बस्ने २२ वर्षीय ईन्द्र धामीलाई मंगलबार राति प्रहरीले पक्राउ गरेको छ । प्रदेश प्रहरी कार्यालय धनगढी र इलाका प्रहरी कार्यालय मसुरियाबाट खटिएको संयुक्त टोलीले उनलाई उक्त पदार्थ सहित फेला पारी पक्राउ गरेको हो।

दाङको तुलसीपुर उपमहानगरपालिका–६ कालिका मन्दिर नजिकबाट ४४० मिलिग्राम ब्राउनसुगरसहित सोही उपमहानगरपालिका–५ बस्ने २३ वर्षीय मोहम्मद सुहिल लगायत २ जनालाई मंगलबार राति प्रहरीले पक्राउ गरेको छ। इलाका प्रहरी कार्यालय तुलसीपुरबाट खटिएको प्रहरीले सोही ठाउँस्थित भिनिला रेष्टुरेन्टको पछाडी रहेको कटेजमा उनीहरूलाई उक्त पदार्थ सहित फेला पारी पक्राउ गरेको हो।

प्रतिक्रिया दिनुहोस्