विभिन्न स्थानमा डुबेर ४ जनाको मृत्यु
काठमाडौं, भदौ १९ । कपिलवस्तु, कैलाली, महोत्तरी र नवलपरासी (पश्चिम) मा डुबेर चार जनाको मृत्यु भएको छ । कपिलवस्तुको महाराजगन्ज नगरपालिका–८ वाणगंगा नदीमा डुबेर सोही नगरपालिका कजरहवा बस्ने रमेश बर्माको ९ वर्षीय छोरा मोहित बर्माको शनिबार मृत्यु भएको छ ।
उक्त नदीमा नुहाउने क्रममा डुबेर अशक्त भएका उनको जिल्ला अस्पताल तौलिहवामा उपचारको क्रममा मृत्यु भएको हो । कैलालीको टिकापुर नगरपालिका–२ जनशक्ति सामुदायिक वनस्थित मुलपानी तलाउमा डुबेर जानकी गाउँपालिका–८ पहाडीपुर बस्ने २० वर्षीय पुष्प राज उपाध्यायको शनिबार मृत्यु भएको छ ।
उक्त तलाउमा नुहाउने क्रममा डुबेर अशक्त भएका उनको टीकापुर अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । महोत्तरीको गौशाला नगरपालिका–४ रजखोर बस्ने संजित आलेको ७ वर्षीय छोरा अमर आलेको सोही ठाउँस्थित ईटा भट्टाको पानी जमेको खाल्डोमा डुबेर शनिबार मृत्यु भएको छ ।
खेल्ने क्रममा उक्त खाल्डोमा डुबेर अशक्त भएका उनको प्राथमिक स्वास्थ्य केन्द्र गौशालामा उपचारको क्रममा मृत्यु भएको हो । नवलपरासी (पश्चिम) को बर्दघाट नगरपालिका–७ जिमिरेभार बस्ने सिताराम चौधरीको ७ वर्षीय छोरा निखिल चौधरीको सोही नगरपालिका–१४ खजुरे खोलामा डुबेर शनिबार दिउँसो मृत्यु भएको छ ।
उक्त खोलामा पौडी खेल्ने क्रममा डुबेर अशक्त भएका उनको स्थानीय मेडिकलमा उपचारको क्रममा मृत्यु भएको हो ।
प्रतिक्रिया दिनुहोस्