ब्राउनसुगरसहित चार जना भारतीय नागरिक पक्राउ

काठमाडौं, साउन २६ । झापाको छुट्टाछुट्टै तीन ठाउँबाट प्रहरीले ब्राउनसुगरसहित चार जनालाई पक्राउ गरेको छ । भद्रपुरबाट एक भारतीय नागरिक, बिर्तामोडमा एक र दमकबाट दुई जनालाई गएराति ब्राउनसुगरसहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता वसन्त पाठकले जानकारी दिनुभयो ।

प्रहरी कार्यालय भद्रपुरबाट खटिएको प्रहरी टोलीले भद्रपुर नगरपालिका–३ झोलुङ्गे पुलमा भारतबाट नेपालतर्फ आउँदै गरेका भारत पश्चिम बङ्गाल दार्जिलिङ थाना खुरीबारी भेलकोजोतका ४२ वर्षीय निखिल विश्वासलाई तीन ग्राम ८०० मिलीग्राम ब्राउनसुगरसहित पक्राउ गरेको छ ।

हिजो बेलुका लागुऔषध नियन्त्रण ब्युरो काँकडभिट्टा र इलाका प्रहरी कार्यालय अनारमनीबाट खटिएको प्रहरी टोलीले बिर्तामोड नगरपालिका–२ को चारपानेबाट त्यही ठाउँका ३६ वर्षीय बद्री राजवंशीलाई तीन ग्राम ब्राउनसुगरसहित पक्राउ गरेको छ ।

यस्तै गएराति नै दमक नगरपालिका–९ को इँटाभट्टामा इलाका प्रहरी कार्यालय दमकबाट खटिएको प्रहरी टोलीले २५ ग्राम ब्राउनसुगर र नगद १० हजार रुपैयाँसहित दुई जनालाई पक्राउ गरेको थियो ।

को २९ प २२३४ नम्बरको मोटरसाइकलमा रहेका गौरादह नगरपालिका–१ का ३३ वर्षीय भीमबहादुर श्रेष्ठ र ३२ वर्षीय मोहन सिलवाललाई ब्राउनसुगरसहित पक्राउ गरिएको हो । ब्राउनसुगरसहित पक्राउ परेका उनीहरूमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

 

प्रतिक्रिया दिनुहोस्