सुनसरीमा चक्कु प्रहारबाट २ जनाको हत्या

काठमाडौं,असार २८ । सुनसरीमा चक्कु प्रहारबाट २ जनाको हत्या भएको छ ।
बराहक्षेत्र नगरपालिका र रामधुनी नगरपालिकामा चक्कु प्रहारबाट दुई जनाको हत्या भएको हो ।

चक्कु प्रहारबाट बराहक्षेत्र नगरपालिका–६ चक्रघट्टी बस्ने ४० वर्षीय आशीष दर्जी र रामधुनी–६ बस्ने १६ वर्षीय विवेक सदा ऋषिदेवको हत्या भएको हो ।

यता प्रहरीले दर्जीको हत्या गरेको आरोपमा २४ वर्षीय सविन तामाङलाई र ऋषिदेवको हत्या गरेको आरोपमा १७ वर्षीय निशान चौधरीलाई पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालका अनुसार सोमबार राति बराहक्षेत्रको मुनाल चोकमा दर्जी र तामाङबीच भनाभन भएको थियो । रातको १२ बजे भएको घटनामा तामाङले दर्जीमाथि चक्कु प्रहार गरेपछि धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका लागि पुर्‍याइएको थियो ।

शरीरबाट अत्यधिक रगत बगेकाले उपचार गर्दागर्दै दर्जीको राति करिब साढे १ बजे मृत्यु भएको ईलाका प्रहरी कार्यालय महेन्द्रनगरका प्रहरी निरीक्षक टीका कार्कीले बताए ।

मृतक दर्जी र हत्यामा सम्लग्न तामाङ छिमेकी हुन् । पक्राउ परेका सविन तामाङले मादक पदार्थ सेवन गरेको बेला विवाद हुँदा आशीष दर्जीको छातीमा छुरा प्रहार गरेको स्वीकार गरेको प्रहरी निरीक्षक कार्कीले बताए ।

रामधुनीको सरौनामा मंगलबार बिहान करिब ६ बजे सुतिरहेका विवेक ऋषिदेवमाथि निशान चौधरीले पेटमा चक्कु प्रहार गरी हत्या गरेको प्रहरीले जनाएको छ ।

मृतक ऋषिदेव अर्का छिमेकी जाङ्ली ऋषिदेवको घरमा सुतिरहेका थिए । गम्भीर घाइते बनेका ऋषिदेवको उपचारका क्रममा बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको आकस्मिक कक्षमा बिहान ८ बजे मृत्यु भएको प्रहरीले जनाएको छ ।

पक्राउ परेका चौधरी र तामाङलाई हिरासतमा लिएर आवश्यक कानुनी कारबाहीका लागि प्रक्रिया अगाडि बढाएको प्रहरीले जनाएको छ ।

 

प्रतिक्रिया दिनुहोस्