पेस्तोल र गोलीसहित हरिवनका एक जना पक्राउ

काठमाडौं, असार २१ । प्रहरीले पसलमा लुकाइराखेको पेस्तोल र गोलीसहित एक पुरुषलाई पक्राउ गरेको छ ।

मंगलबार बिहान पसलमा लुकाई राखेको एक थान पेस्तोल र सोही पेस्तोलमा लाग्ने एक राउन्ड गोलीसहित हरिवन नगरपालिका- ११, बस्ने ४३ वर्षका छोटेलाल दास पक्राउ परेका हुन् ।

दासलाई सुराकीको आधारमा अवैध हतियारसहित पक्राउ गरिएको हरिवनस्थित ईलाका प्रहरी कार्यलयले जनाएको हो । दासले हरिवन बजारमा किराना पसल सञ्चालन गर्दै आएका थिए ।

उनले सञ्चालन गरेको किराना पसलमा खानतलासी गर्दा उक्त हतियार र गोली बरामद भएको थियो ।

पेस्तोल र गोलीसहित पक्राउ परेका दासलाई नियन्त्रणमा राखेर अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक माधवप्रसाद बुढाथोकीले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्