डाक्टरको सिफारिस विना औषधि बेचिरहेका फार्मेसी सञ्चालकसहित चार पक्राउ
काठमाडौं, असार ८ । डाक्टरको सिफारिस बिना नै लागूऔषध दुर्व्यसनमा परेका व्यक्तिलाई औषधि बेचबिखन गरेको आरोपमा प्रहरीले फार्मेसी सञ्चालकसहित चार जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा धादिङ गंगाजमुना गाउँपालिका-५ घर भई हाल काठमाडौं तारकेश्वर नगरपालिका-५ लोलाङस्थित गंगाजमुना फार्मेसी संचालन गरी बस्ने ४२ वर्षीय डिलबहादुर कार्की, नुवाकोट ककनी गाउँपालिका-१ स्थायी घर भएका २२ वर्षीय राजकुमार तामाङ, २२ वर्षीय सानु तामाङ र काठमाडौं तारकेश्वर नगरपालिका-५ गोलढुङ्गा बस्ने २४ वर्षीय संजय पुतुवार छन् ।
गंगाजमुना फार्मेसीमा बिना इजाजत अवैधरूपमा औषधि बेचबिखन गर्ने गरेको सूचनाको आधारमा प्रहरी वृत्त बालाजुबाट खटिएको प्रहरीले अनुसन्धानको क्रममा संलग्नता देखिएपछि उनीहरूलाई पक्राउ गरेको हो ।
फार्मेसीबाट स्पास्पेन ४५० ट्याब्लेट, ट्रमा २४० ट्याब्लेट र ट्रमाडोल ५ सय क्याप्सुल प्रहरीले बरामद गरेको छ । उनीहरूलाई थप अनुसन्धान तथा कारबाहीका लागि औषधि व्यवस्था विभाग बिजुलीबजार काठमाडौंमा पठाइएको जनाइएको छ ।
प्रतिक्रिया दिनुहोस्