चलचित्र विकास बोर्ड अध्यक्षका लागि आवेदन !
काठमाडौं , असार ५ । सरकारले चलचित्र विकास बोर्डको अध्यक्ष पदका लागि आवेदन माग गरेको छ।
प्रतिस्पर्धात्मक प्रक्रियामा सहभागी हुन इच्छुक योग्यता, अनुभव र उमेरसमूहका नेपाली नागरिकले सूचना तथा सञ्चार प्रविधि मन्त्रालयमा आवेदन दिन आग्रह गरिएको हो । अध्यक्षको छनोट व्यावसायिक कार्ययोजना, कार्ययोजनाको प्रस्तुतीकरण र अन्तर्वार्ताको आधारमा हुने बताइएको छ।
यसअघि आवेदनका लागि न्यूनतम शैक्षिक योग्यता स्नातक तोकिएकोमा यस पटक प्रवीणता प्रमाणपत्र तह वा सो सरह उत्तीर्ण नेपाली चलचित्र उद्योगको स्थापना, विकास, संरक्षण, संवद्र्धन तथा प्रवद्र्धनमा निरन्तर रूपमा कम्तीमा २० वर्ष काम गरेको व्यक्तिले पनि आवेदन दिन सक्ने प्रावधान थपिएको छ।
गत मंसिर २९ गते बोर्डका अध्यक्ष केशव भट्टराईको असामयिक निधन भएपछि अध्यक्ष पद रिक्त भएको थियो। राजनीतिक चलखेलकै कारण पद रिक्त भएको ६ महिनापछि मात्र आवेदन माग गरिएको हो। आवेदन दिँदा बोर्डको वर्तमान अवस्था, सबल तथा कमजोर पक्ष र भावी रणनीति बुँदागत रूपमा पेस गर्न भनिएको छ।
राजनीतिक नियुक्ति हुने बोर्ड अध्यक्षका लागि केही वर्षदेखि आवेदन माग गरी खुल्ला प्रतिस्पर्धा गराउन थालिएको हो। यता चलचित्र विकास बोर्ड अध्यक्ष बन्नका लागि दौडधुप जारी रहेको छ ।















प्रतिक्रिया दिनुहोस्