सर्पको टोकाइपछि झारफुक, समयमा उपचार नपाउँदा गर्भवती महिलाको मृत्यु

काठमाडौं, जेठ ३१ । सर्पले टोक्दा अछाममा एक गर्भवती महिलाको मृत्यु भएको छ।

जिल्लाको पञ्चदेवल विनायक नगरपालिका– ५ लयाँटीकी ३२ वर्षीया रामपुरा शाहीको सर्पको टोकाइबाट मृत्यु भएको हो।

सोमबार राति सुतिरहेको वेला ओछ्यानमै सर्पले टोकेपछि बिहान अस्पताल लैजाने तयारी गरिरहँदा घरमै उनको मृत्यु भएको जेठाजु लालबहादुर शाहीले जानकारी दिए। राति नै अस्पताल लैजान नसक्दा उपचारमा ढिलाइ हुँदा उनको मृत्यु भएको हो। स्थानीयका अनुसार राति १० बजेतिर सर्पले टोकेपछि रातभर झारफुक गर्नेतिर लाग्दा समयमै उपचार नपाउँदा महिलाको मृत्यु भएको हो।

रातभर झारफुक गर्दा ठीक नभएपछि मंगलबार बिहान ८ बजेतिर मात्रै एम्बुलेन्सको खोजी गर्दै गर्दा मृत्यु भएको वडाध्यक्ष हेमबहादुर शाहीले जानकारी दिए। एक छोरा र एक छोरीकी आमा रहेकी मृतक रामपुराको पेटमा ६ महिनाको बच्चा रहेको थियो।

प्रतिक्रिया दिनुहोस्