बालिका बलात्कार गरेको आरोपमा ४९ वर्षीय पुरुष पक्राउ

काठमाडौं, बैशाख ६ । बालिका बलात्कार गरेको आरोपमा मकवानपुरबाट ४९ वर्षीय पुरुष पक्राउ परेका छन्।

जिल्लाको पूर्वी क्षेत्र बागमती गाउँपालिकाकी आठ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा ४९ वर्षीय पुरुषलाई प्रहरीले मंगलबार पक्राउ गरेको हो।

सोमबार साँझ पीडित बालिकाकी आमाले आफन्तबाटै छोरी पटकपटक बलात्कृत भएको भन्दै जिल्ला प्रहरी कार्यालय मकवानपुरमा किटानी जाहेरी दर्ता गराएकी थिइन्।

जाहेरी दर्तापछि इलाका प्रहरी कार्यालय फापरबारीबाट खटिएको प्रहरी टोलीले आरोपीलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक टेकबहादुर कार्कीले जानकारी दिए।

आरोपीलाई हिरासतमा राखी थप अनुसन्धान सुरु गरिएको कार्कीले बताए। यता पीडित बालिका बिरामी रहेको र उपचार भइरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्