चितुवाको छाला र खप्परसहित बुढानिलकण्ठबाट चार जना पक्राउ

काठमाडौं, बैशाख ४ ।  बुढानिलकण्ठ-८ गल्फुटारस्थित पूर्व-पश्चिम गेष्ट हाउसबाट प्रहरीले चितुवाको छाला र खप्पर बरामद गरेको छ। गैरकानुनीरुपमा बेचविखन गर्न ल्याइएको उक्त सामानसहित प्रहरीले ४ जनालाई प्रक्राउ गरेको छ।

महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता दिनेशराज मैनालीका अनुसार उक्त गेष्ट हाउसमा दुर्लभ वन्यजन्तुको छाला अवैध ओसारपसार भइरहेको सूचना प्रहरीले पाएको थियो।

प्रहरी प्रभाग बुढानीलकण्ठबाट खटिएको टोलीले चेकजाँचका क्रममा ती साम्रागी बरामद गरेको हो। उनीहरु बसेको कोठा खानतलासी गर्दा खरानी र कलेजी रंगको झोलाभित्र दुई वटा चितुवाको छाला फेला परेको हो। त्यस्तै रुमालमा बेरेको अवस्थामा चितुवाको टाउको जस्तो देखिने खप्पर पनि बरामद भएको प्रहरीले जनाएको छ।

प्रहरीले गुल्मी चन्द्रकोटे वर्ष ३५ का बिष्णु सुनार, ओखलढुङ्गा खिजिघोम्बा घर भई हालः जिल्ला भक्तपुर बस्ने वर्ष २९ का फुरी शेर्पा, धादिङ गजुरी घर भई हालः जिल्ला भक्तपुर चाङ्गुनारायण वर्ष २४ का विनोद श्रेष्ठ र सिन्धुली कमलामाई नगरपालिका-४ हिरापानी घर भई हालः ललितपुर पाटन बस्ने वर्ष ३० का विकास पुर्कुटीलाई पक्राउ गरेको छ।

उनीहरुलाई थप अनुसन्धानका लागि डिभिजन वन कार्यालय हात्तीसारमा पठाइएको प्रवक्ता मैनालीले बताए।

प्रतिक्रिया दिनुहोस्