सेनाद्वारा सशस्त्र प्रहीलाई ५ सय ९० थान हतियार हस्तान्तरण
काठमाडौं, चैत २७ । नेपाली सेनाले सशस्त्र प्रहरी बललाई ५ सय ९० थान हतियार हस्तान्तरण गरेको छ । प्रधानसेनापति प्रभुराम शर्माले सशस्त्र प्रहरीका महानिरीक्षक शैलेन्द्र खनाललाई आइतबार पाँच सय ९० नाल हतियार हस्तान्तरण गरेका हुन् ।
सेनाको जनसम्पर्क तथा सूचना निर्देशनालयका जंगी अड्डाका अनुसार रक्षा र गृहसचिव, नेपाली सेना र सशस्त्र प्रहरीका अधिकारीहरूको उपस्थितिमा हतियार हस्तान्तरण गरिएको हो ।
‘सशस्त्र प्रहरी बल, नेपाललाई तालिम, विशिष्ट र अतिविशिष्ट व्यक्ति सुरक्षा, कार्यालय सुरक्षा तथा ठूला कार्यक्रमहरू संचालन गर्ने प्रयोजनका लागि भनि नेपाल सरकार, मन्त्रिपरिषद्को मिति २०७८ चैत्र २४ गतेको निर्णय बमोजिम नेपाली सेनाले सहयोग स्वरुपमा ईन्सास राइफल नाल नौ हजार र एलएसडब्ल्यू नाल एक हजार छ सय गरी कूल १० हजार ६ सय नाल हतियार उपलब्ध गराउने छ ।
सोही अनुरुप, आज पहिलो चरणमा ईन्सास राइफल नाल पाँच सय र एलएसडब्ल्यू नाल ९० गरी कूल ५ सय ९० नाल हतियार हस्तान्तरण गरिएको हो,’ निर्देशनालयले भनेको छ ।
सेनाले बाँकी हतियार तथा एम्युनिसन क्रमश हस्तान्तरण गर्दै लगिने जनाएको छ । सेनाले दिएका हतियारले यसबाट सशस्त्र प्रहरी बलको क्षमता अभिवृद्धि हुने बताएको छ ।
यस्ता कार्यक्रमले सुरक्षा निकायहरूबीचको सम्बन्ध समेत थप बलियो हुने विश्वास नेपाली सेनाले लिएको जंगी अड्डाले जनालेको छ ।
प्रतिक्रिया दिनुहोस्