आमसञ्चार तथा पत्रकारिता प्राज्ञिक विभागको प्रमुखमा बिडारी

काठमाडौं, चैत  ९ । नेपाल पत्रकार महासंघले आमसञ्चार तथा पत्रकारिता प्राज्ञिक विभाग गठन गरेको छ। सो विभागको प्रमुखमा केन्द्रीय सदस्य शन्तराम बिडारी र उपप्रमुखमा सुभाष साह चयन भएका छन् । विभाग आठ सदस्यीय रहेको छ ।

विभागको सदस्यमा डा.बालकृष्ण चापागाई, रामकृष्ण अधिकारी, विकास कार्की, कृष्णराज गौतम, रामहरि सिलवाल र भानुभक्त अधिकारी रहेका छन्। विभागमा महासंघका केन्द्रीय सदस्य, श्रमजीवी पत्रकार, विज्ञलाई समावेश गरिएको छ ।

आमसञ्चार तथा पत्रकारिताको अध्ययन तथा अध्यापन हुने देशभरका विश्वविद्यालयसँग समन्वय गरी सातै प्रदेशमा बृहत् प्राज्ञिक सभा गर्ने विभागले जनाएको छ । विभागका प्रमुख बिडारीले उक्त विभागमा प्राज्ञिक तथा प्रभुत्व वर्गको प्रतिनिधित्व गराई विश्व परिवेशमा देखिएका आमसञ्चार तथा पत्रकारिता क्षेत्रका सैद्धान्तिक, व्यवहारिक र प्राज्ञिक पक्षमा बहस छलफल गरी यस क्षेत्रको प्रवद्र्धनमा भूमिका निर्वाह गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।

त्यस्तै प्रदेशका साथै जिल्ला स्तरमा समेत श्रमजिवि पत्रकार तथा पत्रकारिता क्षेत्रका विज्ञसंग समन्वय गरेर विशेष कार्यक्रमहरु छिटै आयोजना गर्न लागेको विभागका उपप्रमुख एवं महासंघका केन्द्रीय सदस्य साहले बताए ।

महासंघको हालै कपिलबस्तुको तिलौराकोटमा सम्पन्न केन्द्रीय समितिको दोस्रो पूर्ण बैठकले आमसञ्चार क्षेत्रलाई थप व्यवस्थित र प्रभावकारी बनाउन यस क्षेत्रको हित संवद्र्धनका लागि केही विभाग तथा समिति गठन गरेको थियो ।

आमसञ्चार तथा पत्रकारिता क्षेत्रमा क्रियाशील सञ्चारकर्मी, विज्ञ, प्राज्ञिक व्यक्तिलाई विभागमा थप गर्दै अझै यसलाई विस्तार गरिने योजना छ ।

 

प्रतिक्रिया दिनुहोस्