छुट्टाछुट्टै स्थानमा  सवारी दुर्घटना,  ७ जनाको मृत्यु

काठमाडौं, फागुन १८ ।  देशका विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा सात जनाको मृत्यु भएको छ । काठमाडौं, चितवन, बारा, दाङ र दार्चुलामा भएको सवारी दुर्घटनामा उनीहरुको मृत्यु भएको हो ।

काठमाडौं महानगरपालिका–६ सरस्वतीनगरमा बा.६४ प १३९६ नम्बरको मोटरसाइकल मंगलबार बेलुकी दुर्घटना हुँदा दई जनाको मृत्यु भएको छ ।

मत्यु हुनेमा मोटरसाइकल चालक ओखलढुंगा घर भएका ३० वर्षीय शिवराज कार्की र पैदलयात्री ओखलढुंगा हर्कपुर गाउँपालिका घर भएका ६१ वर्षीय दुर्गा बहादुर कार्की रहेका छन् ।

दुर्घटनामा गम्भीर घाइते भएका शिवराजको हेल्पिङ ह्याण्ड अस्पताल चावहिलमा र दुर्गा बहादुरको ओम अस्पतालमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

चितवनको भरतपुर महानगरपालिका–१३ गंगानगरमा बागमती प्रदेश ०३–००१ ह १३२५ नम्बरको अटो मंगलबार साँझ आफैँ पछाडी गुड्दा किचिएर एक जना १८ महिनो बालकको मृत्यु भएको छ ।

बाराको कोल्हबी नगरपालिका–६ अधन्वामा ना.६४ प ७२४ नम्बरको मोटरसाइकलको ठक्करबाट मंगलबार साँझ पैदलयात्रीको मृत्यु भएको छ । मृत्यु हुनेमा सोही ठाउँ बस्ने ८५ वर्षीया भोलिया देवी थरुनी रहेकी छन् ।

ठक्करबाट गम्भीर घाइते भएकी उनको सूर्य अस्पताल वीरगञ्जमा उपचारको क्रममा मृत्यु भएको हो । मोटरसाइकल चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

दाङको घोराही उपमहानगरपालिका–१७ उखुबारीमा हाल नम्बर नखुलेको मोटरसाइकलको ठक्करबाट बुधबार साँझ पैदलयात्रीको मृत्यु भएको छ । मृत्यु हुनेमा सोही उपमहानगरपालिका–१५ थारुगल्ली बस्ने १८ वर्षीय अजय चौधरी रहेका छन् ।

ठक्करबाट गम्भीर घाइते भएका उनको उपचारको लागि राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीतर्फ लैजानेक्रममा बाटोमै मृत्यु भएको हो ।

दाङकै गढवा गाउँपालिका–२ महादेवा पुलमा लु.२ च ७६८२ नम्बरको कार र रा.४ प ३४६१ नम्बरको मोटरसाइकल मंगलबार राति ठोक्किदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा मोटरसाइकलमा सवार राप्ती गाउँपालिका–६ सगरापुर बस्ने १० वर्षीया सन्धाय चौधरी छिन् ।

दुर्घटनामा गम्भीर घाइते भएकी उनको लमही अस्पताल लमहीमा उपचारको क्रममा मृत्यु भएको हो ।

दार्चुलाको व्याँस गाउँपालिका–४ मा से.२ त १७९९ नम्बरको ट्रली नजोडेको ट्याक्टर मंगलबार राति दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा ट्याक्टरमा सवार बझाङ चिर बित्थड गाउँपालिका–२ बस्ने २३ वर्षीय वीरेन्द्र खड्का छन् । ट्याक्टरले च्यापिएर घटनास्थलमै उनको मृत्यु भएको हो ।

प्रतिक्रिया दिनुहोस्