साइबर अपराधसम्बन्धी उजुरीको चाङ: ६ महिनामा १० हजार उजुरी दर्ता
काठमाडौं, माघ १९ । नेपाल प्रहरीको साइबर ब्युरोमा साइबर अपराधसम्बन्धी उजुरी दिनेको संख्या बढेको छ। ६ महिनायता मात्रै १० हजार तीन सय उजुरी दर्ता भएको ब्युरोले जनाएको छ। यी उजुरीहरू पीडित आफैँ उपस्थित भएर दर्ता गराएका हुन्। सामाजिक सञ्जाल तथा इन्टरनेटको दुरुपयोग गरी यस्ता घटना हुने गरेको ब्युरोको निष्कर्ष छ।
सामाजिक सञ्जालमा कसैको नक्कली आइडी बनाएर रकम माग्ने, अश्लील भिडियो तथा फोटो पोस्ट गरिदिने, संघसंस्थाका अनलाइन साइट तथा व्यक्तिगत आइडी ह्याक गर्नेलगायतका घटना बढेको ब्युरोका प्रवक्ता नवीन्द्र अर्यालले जानकारी दिए। उनका अनुसार विगत दुई वर्षयता साइबर अपराधसम्बन्धी घटना तुलनात्मक रूपमा बढेका छन्। कोरोना संक्रमण नियन्त्रण गर्न सरकारले लकडाउन गरेपछि उक्त समयमा इन्टरनेटको प्रयोग गरी ठगी गर्नेक्रम बढेको उनको भनाइ छ।
‘साइबर अपराधका घटना बढ्दै आइरहेका छ्न, लकडाउनको समयमा त झन् यस्ता घट्ना धेरै भए, ब्युरोमा दर्ता भएका उजुरी हेर्दा यो भयावह नै छ भन्ने लाग्छ,’ उनले भने। । उनका अनुसार जनशक्ति र पर्याप्त साधन स्रोत नभएका कारण साइबर अपराधका सबै घटनामा प्रहरीले सहजै अनुसन्धान गर्न सकिरहेको छैन। प्रविधिमैत्री कार्यालय हुन सके मात्रै यस्ता अपराधसम्बन्धी काम गर्न सहज हुने अर्यालले बताए। हाल सीमित जनशक्ति र साधनस्रोतका कारण कतिपय अपराधमा अनुसन्धान गर्न कठिन परेको उनको भनाइ छ।
प्रतिक्रिया दिनुहोस्