वाम तालमेलले शेयरबजारमा क्षणिक असर

प्रमुख प्रतिपक्षी दल नेकपा एमाले र सत्तासाझेदार माओवादीसहितका वामपन्थीबीच मङ्सिरमा हुने प्रदेशसभा र प्रतिनिधिसभाको निर्वाचनमा तालमेल गरी उम्मेदवारी दिनेलगायतका सहमतिमा हस्ताक्षर गरेदेखि नै शेयरबजार ओरालो लाग्न थालेको छ र यसमा सबै क्षेत्रका कम्पनीको शेयर घटेको छ । शेयरबजार ओरालो लाग्नुमा अरू कुनै कारण देखिँदैन । वाम गठबन्धनलाई नै शेयरबजार घट्नुको कारण मान्दा अन्यथा हुनेछैन ।

दशैंको लामो बिदापछि खुलेको पहिलो दिनमा नै शेयरबजार अकस्मात घट्यो । वामएकताको घोषणा हुनु र शेयरबजार ओरालो लाग्नु सँगसँगै भएकाले यसको कारण वामएकता नै भएको विश्लेषण गर्नु स्वाभाविकै हो । यो एकतामा महत्त्वपूर्ण भूमिका खेल्ने नेताहरूमध्ये पूर्वप्रधानमन्त्री बाबुराम भट्टराई पनि एक हुन् । उनले विगतमा अर्थमन्त्री र प्रधानमन्त्री नै हुँदा पनि शेयरबजारका बारेमा गरेको व्याख्याले शेयर लगानीकर्ता तर्सिएको तर्क गरिएको छ । यो एकतापछि वाम गठबन्धनले नै निर्वाचन जित्छ कि भन्ने आशङ्काले पनि शेयरबजार घटेको हुनुपर्छ । किनभने वामपन्थीहरू शेयरबजारप्रति सकारात्मक हुँदैनन् भन्ने धारणा जनतामा परिसकेको छ । यो धारणालाई वामपन्थीहरूले चिर्न सक्नुपर्छ ।

अहिले अधिकांश कम्पनीको शेयर घटेको छ । केही कम्पनीको बढेको भए पनि त्यो थोरै मात्र छ । वामएकतासँगै मुलुकमा राजनीतिक अन्योल बढेको अनुमान गरिँदै छ । प्रधानमन्त्रीले माओवादीलाई सत्ताबाट बर्खास्त गर्नेलगायत हल्ला पनि चलेको छ । निर्वाचन नै नहुने हो कि भन्ने आशङ्काका कारण पनि बजार घटेको अनुमान गर्न सकिन्छ । तर, निर्वाचन हुन्छ र हुनु पनि पर्छ ।

वर्तमान प्रधानमन्त्री देउवाले विगतमा चालेको जस्तै कसैले पनि नसोचेको कदम चाल्लान् कि भन्ने आँकलन पनि छ । तर, अहिले उनले त्यस्तो गर्न खोजे पनि काङ्ग्रेसका अरू नेताले गर्न दिँदैनन् । किनभने निर्वाचन प्रक्रिया निकै अघि बढिसकेको छ । सबै राजनीतिक दल मात्र होइन, जनता पनि निर्वाचन सम्पन्न भएको हेर्न आतुर छन् ।

आउँदो निर्वाचनका लागि वामपन्थी गठबन्धन भए पनि जति मत माओवादी र एमालेले स्थानीय निर्वाचनमा पाएका छन्, त्यति नै मत उनीहरूले अब पनि पाउँछन् भन्ने छैन । किनभने राजनीतिमा गणितमा जस्तो एकमा एक जोड्दा दुई नै हुन्छ भन्ने छैन । त्यसको फाइदा लोकतान्त्रिक गठबन्धनले लिन सक्ने सम्भावना पनि उत्तिकै बलियो छ । त्यस कारण शेयरबजार ओरालो लाग्ला भनेर आत्तिनु पर्दैन ।

अहिले ठूला लगानीकर्ता आत्तिएका छैनन्, सर्वसाधारण मात्र आत्तिएका हुन् । सट्टेबाजी तरीकाले लगानी गर्नेले पनि शेयर बेचे होलान् । यसो गर्दा बजार तल गएपछि कम मूल्यमा फेरि किन्ने दाउमा त्यस्ता लगानीकर्ता हुन सक्छन् । जसले कर्जा लिएर शेयर किनेको छैन, तिनीहरूले आत्तिनु पर्दैन । कर्जा लिएकाले पनि केही समयसम्म धान्न सक्नुपर्छ । मङ्सिरको अन्त्यसम्म निर्वाचनको सबै परिणाम आइसक्छ । यो २ महीना धान्न सक्ने लगानीकर्ताले आत्तिनु पर्दैन । अहिले बजारमा तात्कालिक प्रतिक्रिया मात्र देखापरेको हो । यस्तो प्रतिक्रिया क्षणिक हो, त्यसको असर १/२ दिन बढी चल्ला पनि । तर, त्यसपछि तुरुन्तै बजार स्वाभाविक तहमा फर्किन्छ ।

साथै, डा. बाबुराम भट्टराईलगायत सबै वामपन्थीले शेयरबजारको महत्त्व बुझिसकेका छन् । उनीहरू सत्तामा आए नै भने पनि लगानीकर्ताको अहित हुने कुनै काम गर्दैनन् । अहिले शेयर लगानीकर्ताको जमात ठूलो भइसकेको छ । त्यो जमातविरुद्ध कुनै कदम चाल्ने हिम्मत उनीहरूमा हुने छैन ।

वाम गठबन्धनले जुन समाजवादको कुरा गरिरहेको छ, त्यो अधिनायकवादी हो नै भने बेग्लै कुरा हो । त्यो समाजवाद प्रजातान्त्रिक हो भने बजारलाई कुनै असर गर्दैन । किनभने प्रजातान्त्रिक समाजवादमा थोरै पूँजी भएकालाई पनि आंशिक मालिक बनाउने अवसर दिने भनेको नै शेयरबजारले हो । त्यसैले पनि उनीहरूले शेयरबजारलाई बिगार्ने हिम्मत गर्ने छैनन् ।

शेयरबजार केही दिन यही क्रमले घट्दै गयो भने लगानीकर्तालाई असर पार्छ । स“गस“गै नवप्रवेशीले बजारमा प्रवेश गर्ने मौका पनि पाउँछन् । तर, अहिलेको बजार ओरालो लाग्नु भनेको राजनीतिक गठबन्धनको क्षणिक प्रतिक्रिया मात्र हो । यसबाट आत्तिनुपर्ने कुनै कारण छैन ।

स्रोतः आर्थिक अभियान

प्रतिक्रिया दिनुहोस्