सेयर बजार सामान्य अंकले घटे पनि कारोबार रकम भने ४ अर्ब नाघ्यो

काठमाडौं,४ मंसिर । साताको अन्तिम सेयर कारोबार दिन बिहीबार नेप्से परिसूचक सामान्य अंकले घटेर बन्द भएको छ । आज नेप्से परिसूचक ०.९३ अंकले घटेर २५६०.१५ विन्दुमा कायम भएको हो ।

कारोबार रकम भने बुधबारको तुलनामा केहि वृद्धि भएको छ । बुधबार ३ अर्ब ७१ करोड मूल्य बराबरको सेयर कारोबार भएकोमा आज ४ अर्ब नाघेको छ । आज ३२८ कम्पनीको १ करोड ४ लाख ४९ हजार २९६ कित्ता सेयर ४ अर्ब ६८ करोड ८८ लाख ६८ हजार २९९ रुपैयाँमा खरिदबिक्री भएको छ ।

यस दिन चारवटा कम्पनीको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भयो । धौलागिरी लघुवित्त, बन्दिपुर केवलकार,झापा इनर्जी र सागर डिष्टिलरीको सेयर १० प्रतिशतले बढ्यो । त्यस्तै, बुंगल हाइड्रोका लगानीकर्ताले भने सर्वाधिक गुमाएका छन् । यस कम्पनीको सेयर ९.०५ प्रतिशतले घटेर कारोबार भएको छ ।

कारोबार रकमका आधारमा साहस उर्जा शीर्षस्थानमा रह्यो । यस कम्पनीको ४१ करोड ८० लाख मूल्य बराबरको कारोबार भयो। सप्तकोशी डेभलपमेन्ट बैंकले १६ अर्बको कारोबार हुँदा नेपाल रिइन्स्योरेन्स,युनियन हाइड्रोपावर र बरुण हाइड्रोपावरको १२/१२ करोड मूल्य बराबरको सेयर कारोबार भयो ।

कारोबारमा आएकामध्ये ११२ वटा कम्पनीको मूल्य बढ्दा १३८ वटाको घट्यो । ६ वटा कम्पनीको मूल्य भने स्थिर रहेको छ । ६ समूहको उपसमूहको बढ्दा अरु समूहको उपसूचक घट्यो ।

होटल्स एण्ड डेभलपमेन्ट बैंक, हाइड्रोपावर, उत्पादन, माइक्रोफाइनान्स, अन्य र ट्रेडिङ समूहको उपसूचक बढ्दा अरु समूहको उपसूचक नकारात्मक देखिएका हुन्।

प्रतिक्रिया दिनुहोस्