५४६ नेपाली श्रमिक खाडी र मलेसियाका जेलमा, २५ जनालाई मृत्युदण्ड सजाय

काठमाडौं, पुस ७ ।  रोजगारीका लागि खाडी र मलेसिया पुग्ने नेपाली श्रमिक अनाहकमै जेल पर्ने गरेका छन् । निर्दोष हुँदाहुँदै पनि कानुनी लडाइँको ज्ञान नहुँदा र राज्यले समेत बेवास्ता गर्दा उनीहरू फस्ने गरेका छन् ।

साउदी अरबको दमाममा भारतीय नागरिकको घाँटी रेटेर हत्या गरेको आरोपमा जेल परेका पाँच नेपाली तीन वर्षपछि अदालतबाट निर्दोष साबित भएको घटना त्यसको ज्वलन्त उदाहरण हो । हत्या आरोपमा २०१८ डिसेम्बरमा इलामका धनबहादुर तामाङ, भक्तपुरका कृष्णप्रसाद गासी, महोत्तरीका इन्द्रजित मण्डल, धनुषाका रामप्रसाद ठाकुर र सिराहाका वासुदेव ठाकुर पक्राउ परेका थिए । सेन्ट्रल जेलमा तीन वर्ष थुनिएपछि गत जेठमा दमाम अदालतले उनीहरू निर्दोष रहेको फैसला सुनाएको थियो । भारतीय नागरिक आफैँले चक्कु घोपेर आत्महत्या गरेको अदालतको फैसला छ ।

तर, अदालतबाट निर्दोष करार भएको ६ महिनासम्म पनि उनीहरू जेलमुक्त भएका छैनन् । साउदीस्थित नेपाली दूतावासका दमाम प्रतिनिधि नारायण पासवानले फैसलाको पूर्णपाठ आउन बाँकी रहेकाले थप प्रक्रिया अगाडि बढाउन नसकिएको बताए । प्रवासी नेपाली समन्वय समितिकी शान्ति सिंहले भने उनीहरूले काम गर्ने कम्पनीले जिम्मेवारी नलिएका कारण जेलमुक्त नभएको बताइन् ।

वैदेशिक रोजगार बोर्डको तथ्यांकअनुसार हाल पाँच सय ४६ नेपाली श्रमिक खाडीका ६ देश र मलेसियाका जेलमा छन् । मलेसिया, संयुक्त अरब इमिरेट्स (युएई), कुवेत, साउदी अरब, कतार, बहराइन र ओमनका जेलमा पाँच सय २६ पुरुष र २० महिला रहेको तथ्यांक छ । मलेसियामा दुई सय ६, कुवेतमा ५८, युएईमा एक सय ८५, साउदी अरबमा ५४, कतारमा ३५, बहराइनमा पाँच र ओमनमा तीन नेपाली श्रमिक जेलमा छन् ।

सुरक्षित आप्रवासीका लागि राष्ट्रिय सञ्जालका महासचिव कृष्ण न्यौपाने अधिकांश श्रमिकले आफू निर्दोष भएको प्रमाणित गर्न नसक्दा जेल सजाय भोग्नुपरेको बताउँछन् । ‘सम्बन्धित मुलुकको कानुन, नीति–नियम नजानेका कारण स–साना घटनामा पनि नेपाली मजदुरले जेल सजाय भोग्नुपरेको छ । कतिपयले कानुनी सहायता नपाउँदा पनि लामो समय जेलमा बस्नुपरेको छ,’ उनले भने ।

जब कि श्रम स्वीकृति लिएर गएका श्रमिक जेल परे राज्यले कानुनी लडाइँ लड्नुपर्ने व्यवस्था ऐनमै छ । वैदेशिक रोजगारीमा गएका नेपाली कामदारको कानुनी प्रतिरक्षासम्बन्धी निर्देशका, २०७५ ले श्रम स्वीकृति लिई वैदेशिक रोजगारमा गएका कामदारलाई करार अवधिभित्र फौजदारी कसुरको अभियोग लागेमा कानुनी प्रतिरक्षा तथा बहस–पैरवीको व्यवस्था गरेको छ । कुनै नेपाली श्रमिक खाडी तथा मलेसियाको जेलमा परेमा उसका परिवार वा साथीले निवेदन दिन सक्नेछन् । कानुनी प्रतिरक्षा तथा बहस–पैरवीको व्यवस्था गरिदिन माग गर्दै विदेशमा भए सम्बन्धित नियोग वा स्वदेशमा भए वैदेशिक रोजगार बोर्डको सचिवालयमा निवेदन दिन सक्नेछन् ।

निर्देशिकाअनुसार फौजदारी कसुरको अभियोग लागेका कामदारबारे नियोगले आवश्यक जाँचबुझ गर्नुपर्नेछ । जाँचबुझपछि आवश्यक परे नियोगले परराष्ट्र मन्त्रालयमा जानकारी पठाउनुपर्नेछ । मन्त्रालयले मुद्दामा बहस गर्नुपर्ने भए सचिवालयलाई सिफारिस गर्नेछ । सचिवालयले प्रारम्भिक जाँचबुझ गरेर प्रतिवेदन बोर्डसमक्ष पेस गर्नुपर्छ । निर्देशिकाअनुसार कामदारको उद्धारका लागि वैदेशिक रोजगार बोर्डले १५ लाख रुपैयाँसम्म खर्च गर्न सक्ने व्यवस्था छ ।

२५ जनालाई मृत्युदण्ड सजाय
खाडी र मलेसियाका जेलमा रहेकामध्ये २५ जनाले मृत्युदण्ड सजाय पाएका छन् । १६ जनालाई आजीवन काराबास, दुईजनालाई २५ वर्ष र तीनजनालाई १५ वर्ष जेल सजाय तोकिएको छ । ३६ जनाले १५ वर्षभन्दा कम, २९ जनाले १० वर्षभन्दा कम, एकजनाले पाँच वर्षभन्दा कम, ४४ जनाले एक वर्षसम्म र ७५ जनाले तीन महिनाभन्दा कम जेल सजाय पाएका छन् । त्यस्तै, १८ जनालाई जरिवाना तोकिएको छ भने दुई सय ९७ जना पुर्पक्षका लागि थुनामा छन् । सम्बन्धित मुलुकका कूटनीतिक नियोगबाट प्राप्त सूचनाका आधारमा वैदेशिक रोजगार बोर्डले तथ्यांक निकालेको हो ।

मलेसियाको जेलमा २०६
तथ्यांकअनुसार मलेसियाको जेलमा सबैभन्दा धेरै दुई सय ६ नेपाली श्रमिक छन् । यीमध्ये तीनजना महिला छन् । १६ जनालाई मृत्युदण्ड तोकिएको छ भने एक सय ९० जनाको मुद्दा फैसला हुन बाँकी छ ।

युएईको जेलमा १८५
युएईको जेलमा १२ महिलासहित एक सय ८५ नेपाली श्रमिक छन् । जसमध्ये एकजनालाई मृत्युदण्ड सजाय तोकिएको छ । चारजनालाई आजीवन काराबास, चारजनालाई १५ वर्षभन्दा कम, पाँचजनालाई १० वर्षभन्दा कम, ४१ जनालाई एक वर्ष वा सोभन्दा कम र ७५ जनालाई तीन महिनाभन्दा कम जेल सजाय छ । सातजनालाई जरिवाना तोकिएको छ भने ४८ जनाको मुद्दा विचाराधीन छ । ओमनको जेलमा दुई महिलासहित तीन नेपाली श्रमिक छन् । एकजनालाई १० वर्षभन्दा कम, एकजनालाई पाँच वर्षभन्दा कम र एकजनालाई एक वर्षसम्म जेल सजाय तोकिएको छ ।

कुवेतको जेलमा ५८
त्यस्तै, कुवेतको जेलमा भने ५८ नेपाली छन् । जसमध्ये तीन महिला र ५५ पुरुष छन् । तीनजनाले मृत्युदण्ड सजाय पाएका छन् । नौजनाले आजीवन काराबासको सजाय पाएका छन् । एकजनाले १५ वर्षको सजाय पाएका छन् । ३१ जनालाई १५ वर्षभन्दा कम, १० जनालाई १० वर्षभन्दा कम सजाय तोकिएको छ । चारजनाको भने सजाय तोकिन बाँकी रहेको बोर्डको तथ्यांकमा उल्लेख छ ।

साउदी अरबको जेलमा​​​​​​​ ५४
साउदी अरबको जेद्दामा ३१ र रियादमा २३ गरी ५४ नेपाली जेलमा छन् । उनीहरू सबै पुरुष हुन् । जेद्दामा रहेका एकजनाले १० वर्षभन्दा कम, २६ जनालाई सजाय तोकिन बाँकी छ भने चारजनालाई जरिवाना तोकिएको छ । १६ कामदारको सजाय स्पष्ट नभएको बोर्डले जनाएको छ । त्यस्तै, रियाद जेलमा रहेका एकजनालाई १० वर्षभन्दा कम र ११ जनाको मुद्दा फैसला हुन बाँकी छ । ६ जनालाई भने जरिवाना भएको छ ।

कतारको जेलमा ३५
कतारको जेलमा भने ३५ नेपाली कामदार छन् । तीनजनाले आजीवन जेल सजाय पाएका छन् । एकजनालाई १५ वर्ष, १० जनालाई १० वर्षभन्दा कम, दुईजनालाई एक वर्ष सजाय तोकिएको छ । १८ जनाको मुद्दा फैसला हुन बाँकी छ । एकजनालाई भने जरिवाना तोकिएको छ ।

बहराइनको जेलमा ५
बहराइनको जेलमा पाँचजना नेपाली कामदार छन् । दुईजनाले २५ वर्षको सजाय पाएका छन् । एकजनाले १५ वर्षभन्दा कम, एकजनाले १० वर्षभन्दा कम, एकजनाले पाँच वर्षभन्दा कमको सजाय पाएका छन् । सम्बन्धित मुलुकका कूटनीतिक नियोगबाट प्राप्त सूचनाका आधारमा बोर्डले तथ्यांक निकालेको हो ।

ओमनको जेलमा ३
दुई महिलासहित तीन नेपाली श्रमिक ओमनको जेलमा छन् । एकजनालाई १० वर्षभन्दा कम, एकजनालाई पाँच वर्षभन्दा कम र एकजनालाई एक वर्षको सजाय तोकिएको छ

 

प्रतिक्रिया दिनुहोस्