रवि लामिछानेसहित प्रतिवादीको बहस सकिन लाग्दा पोखरामा सुरक्षा व्यवस्था कडा 

२४ पुस, पोखरा । कास्कीको पोखरास्थित सूर्यदर्शन सहकारी ठगी प्रकरणमा कास्की जिल्ला अदालतमा प्रतिवादीहरूको तर्फबाट थुनछेक बहस अन्ततिर पुग्न लागेको छ । सो परिस्थितीलाई मध्यनगर गर्दे निषेधित क्षेत्रमा सुरक्षा व्यवस्था कडा पारिएको छ । अदालतबाहिर सोमबार र मंगलबार भएको गतिविधि र  रवि लामिछानेसहित प्रतिवादीको बहस सकिन लाग्दा सुरक्षा व्यवस्था कडा पारिएको हो ।
पोखराको शहीदचोक, जिल्ला अदालत आसपास राष्ट्र बैंक चोकदेखि कोमागाने पार्क, रत्नचोक, जिल्ला मालपोत कार्यालय, मासबार हुँदै मुख्यमन्त्री कार्यालयतर्फ छिर्ने मुखमा ठूलो संख्यामा प्रहरी परिचालन गरेर सोधपुछपछि मात्र मानिसहरूलाई छिर्न रोकिएको छ ।
रविको बहस चलिरहँदा सोमबार रास्वपाका नेता कार्यकर्ता र वकिललाई जान दिइएको तर पीडितपक्षलाई जान खोज्नेलाई रोकिएको भन्दै सूयदर्शन सहकारीपीडित अदालतअगाडि बाटोमै लम्पसार परेर विरोध गरेका थिए । फैसलाको मिति नजिकिँदै गर्दा यस्ता पुरानो घट्ना फेरि पनि दोहोरिनसक्ने देखेर सुरक्षा व्यवस्था कडा बनाइएको प्रहरीले बताएको छ ।
निषेधित क्षेत्रमा मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयसहितका मन्त्रालयहरू, प्रदेश प्रहरी, प्रशासन प्रदेश प्रमुख, अदालतल, जिल्ला समन्वय समितिलगायत सरकारी कार्यालय छन् । यी कार्यालयमा सेवा लिन जाने नागरिकले पनि अनिवार्य कागजात देखाउनुपर्ने र निषेधित क्षेत्रमा रोकिएर बस्न र २/४ जना जम्मा हुन दिइएको छैन ।
रास्वपाले आन्दोलन फिर्ता लिइसकेको र स्थिति सामान्य बनिसकेको अवस्थामा पनि निषेधित क्षेत्रमा कडाइ गरिएपछि रास्वपाले नै प्रशासनको ध्यानाकर्षण गराएको थियो । अंग्रेजी नयाँ वर्षको अवसरमा पोखरामा हुने सडक महोत्सवलाई पनि असर पर्ने भन्दै व्यवसायीले समेत ध्यानाकर्षण गराएका थिए ।
सूर्यदर्शन सहकारी ठगी प्रकरणमा रविसहित गोर्खा मिडियाका पूर्वउपाध्यक्ष तथा पूर्वडीआईजी छविलाल जोशी, लिला पछाईंको तर्फबाट थुनछेक बहस सकिएको छ भने नेचर हब्र्सका सञ्चालक रामबहादुर खनालको तर्फबाट बहस जारी छ ।
गण्डकी प्रदेश सभाको पूर्वसांसदसमेत रहेकी सूर्यदर्शन सहकारीका संस्थापक उपाध्यक्ष मीना गुरुङ, सञ्चालक सदस्य उनकै बाबु कृष्णबहादुर गुरुङ, पूर्व कोषाध्यक्ष आरती गुरुङको थुनछेक बहस हुने क्रममै छ ।
प्रतिक्रिया दिनुहोस्