आज पनि लगातार दोस्रो दिन सेयर बजारमा पहिरो, किन घट्दै छ निरन्तर ?

काठमाडौं, मंसिर २७ । सेयरबजारमा लगातार दोस्रो दिन पहिरो गएको छ। आज नेप्से ७९.२३ अंकले घटेको छ । क वर्गका कम्पनीको कारोबार मापन गर्ने सेन्सिटिभ सूचक पनि १२.४७ अंकले घटेको छ।

शनिबार नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सेयरबजारलाई साम्राज्यवादकै अर्को रुप भन्दै सीमित पुँजीपतिको आम्दानी गर्ने थलो भनी टिप्पणी गरेका थिए। त्यसपछि आइतबार खुलेको सेयरबजार ८८ अंकले घटेको थियो भने आज सोमबार फेरि ७९ अंकले घटेको छ।

प्रचण्डको अभिव्यक्तिसँगै नेप्से २२८२ विन्दुमा झरेको छ। सोमबारको कारोबारमा २३३ कम्पनी सामेल भएका छन्। यी कम्पनीको ९६ लाख ७९ हजार कित्ता सेयर बिक्री भएको नेपाल स्टक एक्सचेन्जले जनाएको छ।

दिनभरिमा ६२ हजार ८०९ पटकको खरिदबिक्रीसँगै ३ अर्ब ९९ करोड रुपैयाँको कारोबार भएको हो। आज १३ वटै उपसूचकहरु राताम्य छन्। सबैभन्दा बढी बीमा, माइक्रोफाइनान्स, जलविद्युत् र विकास बैंकका सूचक ओर्लिएका छन्।

आज गुर्खाज फाइनान्सका लगानीकर्ताले कमाए पनि अन्य कम्पनीका लगानीकर्ताले खासै कमाउन नसकेको नेप्सेले जनाएको छ।

आज आधादर्जन बढी कम्पनीका लगानीकर्ताले १० प्रतिशत हाराहारीमा गुमाएका छन्। ८ प्रतिशतसम्म गुमाउने लगानीकर्ताहरु पनि धेरै रहेका छन्। आज कम्पनीहरुको १८ करोड रुपैयाँसम्मको अधिकतम कारोबार भएको छ।

गठबन्धन सरकार बनेयता नेपालको सेयरबजार निरन्तर ओरालो लागिरहेको छ। कारोबार रकम समेत ४÷५ अर्बकै वरिपरि रुमलिएको छ।

३१ सय विन्दु छोएको नेप्से सूचक २२ सयमा झरिसकेको छ भने सेयरबजार पुँजीकरण समेत ६ खर्ब हाराहारीले झरिसकेको छ।

यसैबीच नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक पछिल्लो चार महिनामा साढे ९०० अंकभन्दा बढीले घटेको छ । कोरोना महामारीमा निरन्तर बढ्दै नेप्से इतिहासकै उच्च बिन्दुमा पुगेको परिसूचक चार महिनायता लगातार घटिरहेको छ ।

नेपालको सेयर बजारको अहिलेसम्मको इतिहासमा यही वर्षको भदौ २ गते परिसूचक ३१ सय ९८ अंकमा पुगेको थियो । बजारले नयाँ कीर्तिमान कायम गरेयता निरन्तर ओरालो गतिमा छ । आज मंसिर २७ गतेसम्म आइपुग्दा परिसूचक २३ सय अंकमा छ ।

भदौ २ गतेदेखि मंसिर २७ गतेसम्मको करिब चार महिने अवधिमा बजार करिब साढे ९०० अंकले घटेको छ भने कारोबार रकम र सेयर किनबेच पनि खुम्चिएको छ ।

साउन–भदौको समयमा दैनिक २१ अर्ब रुपैयाँसम्मको कारोबार भएको बजारमा अहिले मुस्किलले तीन अर्बको कारोबार हुन्छ । यसले खुम्चिँदो नेप्से परिसूचकलाई कारोबार रकमले पनि साथ दिएको छैन ।

प्रतिक्रिया दिनुहोस्