सेयर बजारमा ८० अंकको उच्च गिरावट, साढे ६ अर्बमाथिको कारोबार
काठमाडौं , कात्तिक २३ । तिहारपछि लगातार दोस्रो कारोबार दिन पनि सेयर बजारमा गिरावट देखिएको छ । सोमबार १९ अंकले गिरावट भएको सेयर बजारमा मंगलबार प्रि ओपनिङ सेसनमा सामान्य वृद्धि भए पनि नियमित सेसन सुरु भएपछि नेप्सेमा लगातार गिरावट भयो ।
आज बजार परिसूचक नेप्सेमा ७९.७९ अंकको गिरावट हुँदा २७४९.८५ अंकमा बन्द भएको छ । नेप्सेमा उच्च अंकको गिरावट भए पनि कारोबार रकम भने सोमबारको भन्दा बढेको छ । सोमबार चार अर्ब ४० करोडको कारोबार भएको बजारमा आज कारोबार रकम साढे ६ अर्ब नाघेको छ ।
आज नेप्सेमा एक करोड १९ लाख १७ हजार ७७ कित्ता सेयर किनेबच हुँदा ६ अर्ब ५२ करोड ७७ लाख ३० हजारको कारोबार भएको छ ।
आज नेप्सेसँगै सबै उपसूचकमा पनि गिरावट भएको छ । वित्त कम्पनी उपसूचकमा सर्वाधिक ५.२९ प्रतिशत र विकास बैंक उपसूचक ५.२५ प्रतिशतले घटेको छ । यस्तै, अन्य उपसूचक ४.१२ प्रतिशत, निर्जीवन बिमा उपसूचक ३.५८ प्रतिशत, होटेल तथा पर्यटन उपसूचक ३.४५ प्रतिशत र हाइड्रोपावर उपसूचक ३.२१ प्रतिशतले गिरावट हुँदा बजारलाई लिड गर्ने बैंकिङ उपसूचक सबैभन्दा कम १.९१ प्रतिशतले घटेको छ ।
आज बजारमा नबिल बैंकले लिड गरेको छ । बैंकको २९ करोड ८२ लाखको कारोबार हुँदा सहास ऊर्जाको २५ करोड ७९ लाख र अपी पावरको २२ करोड ३६ लाखको कारोबार भएको छ । आज नेप्सेमा १८७ कम्पनीको सेयर कारोबारमा आएकोमा १७९ कम्पनीको सेयर मूल्यमा गिरावट भएको छ । यस्तै, सात कम्पनीको सेयर मूल्य वृद्धि हुँदा एक कम्पनीको सेयर मूल्य स्थिर रह्यो ।
आज कारोबार भएका मध्ये साहस ऊर्जा, मानुषी लघुवित्त र तेह्रथुम पावर कम्पनीको सेयर मूल्य बढेर सर्किटले लेभलमा बन्द भएको छ । यस्तै, युनिलिभर नेपालको १.७३ प्रतिशत र प्राइम कमर्सियल बैंकको सेयर मूल्य १.५७ प्रतिशतलले वृद्धि भएको छ ।
आईसीएफसी फाइनान्स र महालक्ष्मी विकास बैंकको सेयर मूल्य भने घटेर नकारात्मक सर्किट लेभलमा बन्द हुँदा मिथिला लघुवित्तको सेयर मूल्य ७.४२ प्रतिशत, गुडविल फाइनान्सको ६.८५ प्रतिशत र सामुदायिक लघुवित्तको सेयर मूल्य ६.८३ प्रतिशतले घटेको छ ।
नेपाल राष्ट्र बैंक मौद्रिक नीतिको समीक्षाको तयारीमा जुटेको अवस्थामा बैंकमा देखिएको लगानीयोग्य पुँजीको अभाव समाधान गर्न केही लचकता अपनाउन सक्ने स्रोत बताउँछ । त्यसबाहेक यसअघि ब्याजदर नियन्त्रण गर्न लगाएको ‘क्याप’को विषयमा पनि पुनर्विचार गर्न सक्ने स्रोत बताउँछन् । लगानीयोग्य पुँजीको सहजताका लागि लचकता अपनाउँदा पनि ९० प्रतिशतको सीडीलाई भने नचलाउने स्रोतको दाबी छ ।
प्रतिक्रिया दिनुहोस्