कारोबार रकम ५ महिनायताकै उच्च, नेप्से उच्च अंकले वृद्धि, लगानीकर्ताहरु उत्साहित

काठमाडौं, २० माघ। साताको पहिलो कारोबार दिन नेप्से परिसूचक उच्च अंक बढेर बन्द भएको छ। अघिल्लो कारोबार दिन अर्थात गत मंगलबार बढेर बन्द भएको नेप्सेले यस दिन पनि सोही क्रमलाई निरन्तरता दिएको हो।

आइतबार नेप्से परिसूचक ६९.८० अंक बढेर २७२७.५८ विन्दुमा पुगेको छ। त्यस्तै, यस दिन सेन्सेटिभ इण्डेक्स १३.६४ अंक बढेको छ भने फ्लोट इण्डेक्स ४.९३ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ४.५८ अंक बढेको छ।

नेप्सेसँगै यस दिन कारोबार रकम पनि उच्च बढेको छ। गत मंगलबार ९ अर्ब ४० करोडको शेयर खरिदबिक्री भएको बजारमा यस दिन ३३० स्टकको १ लाख ३० हजार ९१३ पटकको कारोबारमा १२ अर्ब ९५ करोड ५७ लाख रुपैयाँबराबरको २ करोड ४८ लाख ४८ हजार कित्ता शेयर खरिदबिक्री भएको छ।

यस दिनको कारोबार रकम पछिल्लो ५ महिनायताकै उच्च हो। यस अघि गत भदौ १८ गते नेप्सेमा साढे १३ अर्बभन्दा बढीको शेयर कारोबार भएको थियो। सोपश्चात भदौ १९ गते १२ अर्ब ९२ करोडको शेयर कारोबार भएको थियो। जुन आजको कारोबार रकम भन्दा अलि कम हो।

यस दिन ९ स्टकको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। यस दिन उन्नती सहकार्य लघुवित्त, ग्लोबल आइएमई लघुवित्त, अभियान लघुवित्त, विजय लघुवित्त, भुगोल इनर्जी डेभलपमेन्ट कम्पनी, ग्रामिण विकास लघुवित्त, एनएमबि माइक्रोफाइनान्स, समता लघुवित्त र न्यादी हाइड्रोपावरको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको हो। कारोबारमा आएको सामुदायिक लघुवित्त वित्तीय संस्थाको शेयरमूल्य यस दिन सर्वाधिक १० प्रतिशत घटेको छ।

कारोबार रकमका आधारमा यस दिन एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्ट शीर्ष स्थानमा रहेको छ। सो कम्पनीको यस दिन ४१ करोड ९७ लाख २ हजार रुपैयाँबराबरको शेयर खरिदबिक्री भएको छ। त्यस्तै, यस दिन सप्तकोशी डेभलपमेन्ट बैंकको ३५ करोडभन्दा बढीको शेयर कारोबार भएको छ भने सिन्धु विकास बैंकको साढे ३० करोडभन्दा बढीको शेयर किनबेच भएको छ।

यस दिन १३ वटै उपसमूहको परिसूचक बढेको छ। जसमध्ये लघुवित्त उपसमूहको परिसूचक सर्वाधिक ४।९२ प्रतिशत बढेको छ। त्यस्तै, यस दिन विकासबैंक, लगानी, उत्पादन तथा प्रशोधन र निर्जीवन बीमा उपसमूहको परिसूचक ३ प्रतिशतभन्दा बढी बढेको छ भने बैंकिङ्ग, जीवन बीमा र अन्य उपसमूहको परिसूचक २ प्रतिशतभन्दा बढी बढेको छ।

प्रतिक्रिया दिनुहोस्