निजी क्षेत्र र सरकारको सहकार्यबाट मात्रै राष्ट्रको समृद्धि हासिल गर्न सकिन्छ: मन्त्री अग्रवाल

 काठमाडौँ, २० माघ । मारवाडी सेवा समिति नेपालले लुम्बिनी प्रदेश सरकारका आन्तरिक मामिला तथा कानूनमन्त्री आदेशकुमार अग्रवालले मुलुकको अर्थतन्त्रको विकासमा उद्योगी, व्यवसायीको योगदान महत्वपूर्ण रहेको बताउनुभएको छ ।
मारवाडी सेवा समितिको ७२औं स्थापना दिवसका अवसरमा आज आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले मुलुकको समग्र अर्थतन्त्रलाई लिएर उद्योगी, व्यवसायीको भावनालाई प्रदेशिक सरकारले सम्बोधन गर्ने बताउँदै निजी क्षेत्र र सरकारको सहकार्यबाट मात्रै राष्ट्रको समृद्धि हासिल गर्न सकिने धारणा व्यक्त
गर्नुभयो ।
मारवाडी समुदायले मुलुकको आर्थिक तथा सामाजिक सेवाको क्षेत्रमा गरेका कार्यहरुको सराहना गर्दै मन्त्री अग्रवालले उनीहरुले आम्दानीको केहि हिस्सा समाज सेवाका माध्यमबाट परोपकारी क्षेत्रमा खर्च गर्ने गरेको बताउनुभयो।
समितिका अध्यक्ष प्रमोद अग्रवालले समाजसेवाका माध्यमबाट देश विकासमा योगदान गर्न सकिने विचार
व्यक्त गर्दै सो समुदायले औधोगिकरणका क्षेत्रमा गरेको लगानीबाट ठूलो परिमाणमा रोजगारी सृजना भएको जानकारी दिनुभयो।
समितिका महासचिव धर्मेन्द्र अग्रवालले आफ्नो संस्थाले श्री पशुपति गौशाला धर्मशालाबाट गौधनको संरक्षण, तिर्थयात्रीहरुलाई सेवा, निःशुल्क कृत्रिम खुट्टा प्रदान, निःशुल्क डाइलाइसिस सेवा, भोजन, निःशुल्क शव वाहन आदि कार्यहरु गर्दै आइरहेको
बताउनुभयो ।
समितिले राष्ट्रिय विपतमा सरकार, स्थानीय तहसँग समन्वय गरी राहत, खाना, औषधि, विभिन्न स्कूललाई खानेपानी टंकी, स्कल ड्रेड, छात्रवृत्ति आदि प्रदान गर्दै आइरहेको जनाएको छ ।
सो अवसरमा मारवाडी सेवा समितिमा विशिष्ट योगदान गर्ने उद्यमी, समाजसेवी, जेष्ठ नागरिकलगायतलाई सम्मान गरिएको थियो।‌
प्रतिक्रिया दिनुहोस्