संवैधानिक प्रक्रियाअनुसार प्रधानन्यायाधीश असफल: वरिष्ठ अधिवक्ता थापा
काठमाडौं, कातिक १४ । यति बेलाको चर्चाको विषय बनेको छ प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको । उनी अहिले विवादमा मुछिएका छन् । यति मात्रै होइन उनको राजिनामा समेत माग गरिएको छ। यता आजदेखि नेपाल बार एसोसिएसन प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको राजीनामा माग गर्दै सर्वोच्च अदालत प्रांगणमा धर्नामा बसेको छ ।
गत सोमबारदेखि इजलास बस्न नसकेको, प्रधानन्यायाधीशविरुद्धको इजलास बहिष्कार र न्यायालयमा देखिएका विकृतिका विरुद्ध कानुन व्यवसायीहरु धर्नामा बसेका हुन् । यसैबीच वरिष्ठ अधिवक्ता शम्भु थापाले संवैधानिक प्रक्रियाअनुसार प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा असफल भएको बताएका छन्।
प्रधानन्यायाधीश जबराको राजीनामा माग गर्न नेपाल बार एसोसिएसनले आयोजना गरेको धर्नापछि बारका पूर्वअध्यक्षसमेत रहेका थापाले प्रधानन्यायाधीश जबरा असफल भएको टिप्पणी गरेका हुन्।
जबराले आफ्नो कामको मूल्यांकन आफैँ गर्न नसक्ने भए पूर्वप्रधानन्यायाधीशहरूको एउटा इजलास गठन गर्न पनि जबरालाई चुनौती दिएका छन्।
‘यदि तपाईं आफ्नो कामकारबाहीको मूल्यांकन गर्न सक्नुहुन्न भने पूर्वप्रधानन्यायाधीशहरूको एउटा इजलास गठन गरौँ। तपाईं एकातिर हामी एकातिर उभिन्छौँ, अनि थाहा भइहाल्छ। हामी राजनीतिक दललाई गुहार गर्दैनौँ,’ थापाले भने।
त्यसैगरि सर्वोच्च अदालत बार एसोसिएसनका अध्यक्ष पूर्णमान शाक्यले कानून व्यवसायीहरुको विरोध प्रधानन्यायाधीशको लागि मात्रै नभएर न्यायपालिकाको शुद्धिकरणको लागि भएको बताएका छन् ।
प्रतिक्रिया दिनुहोस्