पाल्पाकी एक २४ वर्षीया महिलाले जन्माइन् एकै पटकमा चार सन्तान
काठमाडौं, कातिक १० । पाल्पाकी एक महिलाले एकैपटक चार छोरीलाई जन्म दिएकी छन्। पाल्पाको माथागढी गाउँपालिका- १ की २४ वर्षीया सीता सार्कीले भैरहवास्थित युनिभर्सल कलेज अफ मेडिकल साइन्सेज शिक्षण अस्पतालमा मंगलबार दिउँसो चार छोरी जन्माएकी हुन्।
विवाह भएको सात वर्षमा पहिलोपटक सीता गर्भवती भएकी हुन् । यसपछि उनी र उनका श्रीमान सन्तोष सार्की धेरै खुसी थिए। पाल्पामा जुत्ता पसलमा कालिगढको काम गर्दै आएका सन्तोषले श्रीमती गर्भवती भएपछि तानसेनस्थित मिसन अस्पतालमा परीक्षणका लागि नियमित लगिरहन्थे।
पेटमा चार शिशु हुर्किइरहँदा पनि सीतालाई ६ महिनासम्म कुनै अप्ठ्यारो महशुस भएको थिएन। गर्भ ६ महिनाको पुग्दा पेट दुख्न थालेपछि उनीहरूले भिडिओ एक्सरे गराए। चिकित्सकले पेटमा तीन शिशु रहेको जानकारी दिएका थिए।
तानसेनमा एक महिनाको अन्तरमा दुईपटक र कात्तिक ६ गते भैरहवा मेडिकल कलेजमा पनि एकपटक भिडिओ एक्सरे गर्दा तीन बच्चा देखिए पनि मंगलबार शल्यक्रिया गरेपछि मात्रै चार बच्चा भएको थाहा भएको हो।
गर्भवती भएको सात महिनामै चार शिशु जन्मिएकाले कम तौलका भएको भैरहवा मेडिकल कलेजका जनसम्पर्क अधिकृत सुशील गुरुङले जानकारी दिए। सबै शिशुको तौल एक किलोभन्दा अलिकति मात्र बढी भएकाले सबैको आइसियूमा उपचार भइरहेको पनि उनले बताए।
अस्पतालका अनुसार शिशुहरूको तौल एक किलो ६० ग्राम, एक किलो एक सय ग्राम, एक किलो एक सय ३० ग्राम र एक किलो एक सय १५ ग्राम छ। साढे दुई किलोको शिशुलाई सामान्य मानिन्छ। यी चारै शिशु स्वस्थ रहे पनि तौल कम भएकाले एनआइसियुमा राखी उपचार गरिएको गुरुङले बताए।
यता पहिलोपटक श्रीमती गर्भवती बन्दा खुसी भए पनि कम तौलका चार छोरी जन्मिएपछि चिन्ता थपिएको उनले बताए।
प्रतिक्रिया दिनुहोस्