काठमाडौंबाट यार्सागुम्बासहित ४ जना पक्राउ

काठमाडौं, भदौ १८ । काठमाडौंबाट यार्सागुम्बासहित ४ जना पक्राउ परेका छन्। यार्सागुम्बाको कारोबार अवैध रुपमा गरेको आरोपमा उनीहरुलाई प्रहरीले पक्राउ गरेको हो ।

सामाखुसीबाट चारजनालाई पक्राउ गरिएको महानगरीय अपराध महाशाखाका एसएसपी चन्द्र कुवेर खापुङ्गले बताएका छन् ।

पक्राउ पर्नेमा गोरखा चुमनुब्री गाउँपालिका घर भएका डुण्डुप गुरुङ, लमजुङ मर्स्याङ्दीका बेलबहादुर थापा, लमजुङ वेशिसहर घर भएका कृष्ण परियार र प्यूठान घर भएका दानबहादुर जिसी छन् ।

प्रहरीले सामाखुसीस्थित डुण्डुप गुरुङको डेरामा अवैध रुपमा लुकाएर राखेको अवस्थामा १ केजी ८५० ग्राम यार्सागुम्बा बरामद गरेको हो ।

सो यार्सागुम्बाको बजार मुल्य करिब ८ लाख पर्छ । यार्सागुम्बा कारोबारीलाई थप अनुसन्धान र कारवाहीलाई लागी डिभिजन बन कार्यालय काठमाडौंमा बुझाइएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्