क्यानाडा पठाई दिन्छु भन्दै डेढ करोड ठगी, २१ वर्षीय युवक पक्राउ
काठमाडौं, असार १८ । क्यानाडा पठाई दिन्छु भन्दै ठुलो रकम ठगी गर्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा काभ्रे पाँच खाल घर भई हाल काठमाडौंको नयाँ बानेश्वरमा बस्दै आएका २१ वर्षीय प्रजिन अधिकारी रहेका छन् ।
अधिकारीले वर्किङ भिसामा क्यानाडा पठाएर राम्रो कम्पनीमा काम लगाई दिन्छु भन्दै सर्लाही लालबन्दीकी यमुना बस्नेतसँग १७ लाख रुपैयाँ लिएर सम्पर्कविहीन भई फरार भएका थिए ।
महानगरीय अपराध महाशाखाका प्रहरी उपरीक्षक कृष्णप्रसाद कोइरालाका अनुसार अधिकारीलाई प्रहरीले काभ्रेको बनेपास्थित दाहालगाउँबाट असार १७ गते पक्राउ गरेको हो । प्रहरीको अनुसन्धानबाट अधिकारीले यमुना बस्नेतसँग मात्र नभएर अन्य व्यक्तिहरूलाई समेत ठगी गरेको खुलेको छ ।
उनले हालसम्म एक करोड ५० लाखभन्दा बढी रकम ठगी गरेको प्रहरीको भनाइ छ । अधिकारीहरू थप अनुसन्धानका लागि महानगरीय परिसर काठमाडौं पठाएको छ ।
प्रतिक्रिया दिनुहोस्