अलग पहिचान दिने गरी नयाँ कार्यक्रम ल्याउँछु : मन्त्री थापा

गोरखा, ९ फागुन । प्रदेश नं. ४ का भूमि व्यवस्थापन, कृषि तथा सहकारी मन्त्री लेख बहादुर थापाले प्रदेश नं. ४ मा रहेका ११ वटै जिल्लाको पहिचाहन रहने गरी नयाँ कार्यक्रम ल्याउने बताएका छन् ।

प्रेस सेन्टर नेपाल गोरखा शाखाले आयोजना गरेको कार्यक्रममा बोल्दै मन्त्री थापाले प्रत्येक महिना एक दिन भएपनि कृषकसँग मिलेर आफूले काम गर्ने बताए । नयाँ कृषि कार्यक्रम ल्याउने र किसानसँग मिलेर काम गर्ने उनले बताए । आफू मात्रै मन्त्री नभई सबै किसानहरुले आफै मन्त्री भएको महसुस हुने गरी कार्यक्रम ल्याउने  थापाले बताए ।

कृषि ब्लक, कृषि जोन, सुपर जोन निर्माण गरी काम गर्ने बताउँदै मन्त्री थापाले उत्पादन सहकारी मार्फत सहकार्य गरी उत्पादन वृद्धि गर्ने र प्रदेश नम्बर ४ लाई कृषिमा आत्मनिर्भर बनाइएको मन्त्रालयको योजना रहेको  मन्त्री थापाको भनाई छ । केही समय ऐन नियमहरु बनाउन लाग्ने बताउँदै नेता थापाले कृषिका विज्ञहरुको सहयोग लिएर आवश्यकताका आधारमा नीति निर्माण गरी योजनाहरु तर्जुमा गरिने बताए ।

जनताको खाद्य सम्प्रभुता र मौलिक अधिकारको रक्षा गर्न र त्यसलाई व्यवहारमा लागु गर्नु आफ्नो प्रमुख लक्ष्य रहेको मन्त्री थापाको भनाई छ । स्वदेशमा नै अर्गानिक उत्पादन वृद्धि गरी विदेशबाट कुनै पनि कृषिजन्य पदार्थ आयात नगर्ने अवस्थामा प्रदेश नम्बर ४ लाई पु¥याउने मन्त्री थापाले बताए । दुध, माछा, मासु, अण्डा, तरकारी लगायतका कृषिजन्य बस्तुको उत्पादन वृद्धि गरी  प्रदेशलाई आत्मनिर्भर बनाउन कामको थालनी गर्ने उनको भनाई छ । सबै भन्दा धेरै रोजगारी दिने मन्त्रालयले आफूले सम्हालेकाले कोही पनि बेरोजगार हुनु नपर्ने मन्त्री थापाले बताए ।

धेरै पढेका मानिसहरुले काम खेतबारीमा काम गर्नु हुँदैन भन्ने मानसिकता त्याग्नुपर्ने र आफैले खेती गर्न नसके खेती किसानहरुलाई माया गर्नुपर्ने मन्त्री थापाको भनाई थियो ।

प्रतिक्रिया दिनुहोस्