खोलाले बगाउँदा एक बच्चासहित महिला बेपत्ता

काठमाडौं, जेठ ३१ । बाजुराको त्रिवेणी नगरपालिका–५ मा किम्नी खोलाले बगाउँदा सोही वडाका एक जना बालक बेपत्ता भएका छन् ।

यसरी बेपत्ता भएका बालकको खोजी गर्न मौरे प्रहरी चौकीबाट प्रहरी परिचालन गरिसकेको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रमुख प्रहरी नायब उपरीक्षक मदनजित महराले जानकारी दिएका छन् । बालकको नाम भने खुलेको छैन प्रहरी नायब उपरीक्षक महराले बताए ।

यसै गरी जिल्लाको पूर्वी उत्तरी भेगको बुढीनन्दा नगरपालिकामा सोमबार सविहान गाउँ नजिकैको खोलाले बगाउँदा एक महिला बेपत्ता भएकी छन् । बेपत्ता हुनेमा सोही नगरपालिका–३ लौठा रुखकी अन्दाजी ३६ बर्सिया मोतीकला ल्वार रहेकी छन् । आइतबारबाट आएको लगातारको अविरल वर्षासँगै सोमबार बिहान खोलामा आएको बाढीले बगाउँदा उक्त महिलालाई बेपत्ता पारेको हो ।

बडीगार्ड खोलाले बगाएर ल्याएका दाउरा ल्याउन जाने क्रममा खोलाले बगाएर बेपत्ता पारेको स्थानीय धनबहादुर बोहराले बताए । बेपत्ता ल्वारको खोजी कार्य भए पनि नभेटाएको स्थानीयले बताएका छन् । बेपत्ता भएकी महिलाका तीन छोराछोरी बिचल्लीमा परेको बोहराको भनाई छ । बेपत्ता महिलाका श्रीमानले अर्को विवाह गरेर भारतमा गएको स्थानीयले बताए ।

खोलाले बगाएर बेपत्ता भएकी महिलाको खोजी कार्यका लागि इलाका प्रहरी कार्यालय कोल्टीको टोली घटनास्थलमा गएको प्रहरीले जनाएको छ । बाजुरामा गए रातिदेखि निरन्तर वर्षा भइरहेको छ । वर्षका कारण बाहुली खोलाले सदरमुकाम मार्तडीको नहर बालुवाले पुरिदा विद्युत् सेवा अनियमित भएको छ भने बडिमालिका नगरपालिका वडा नं दुई घारमा पहिरोले रुख ढाल्दा विद्युत् पोल भाँचिएको छ ।

प्रतिक्रिया दिनुहोस्