प्रदेश ४ का मुख्यमन्त्री र सभामुखद्वारा शपथग्रहण

काठमाडौं। प्रदेश नम्बर ४ का मूख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

शुक्रबार पोखरामा प्रदेश प्रमुखको निवासमा आयोजित समारोहमा उनलाई प्रदेश प्रमुख बाबुराम कुँवरले शपथ दिलाएका हुन् । मुख्यमन्त्री गुरुङले आजै पदभार ग्रहण गरे भने एकजना मन्त्री पनि नियुक्त गरेका छन् ।

उनले एमालेका रामशरण बस्नेतलाई पर्यटन, उद्योग, वन तथा वातावरण मन्त्रीमा नियुक्त गरेका हुन् । मुख्यमन्त्री गुरुङले बस्नेतलार्ई शपथ गराए । बस्नेत गोरखाबाट प्रदेशसभा सदस्य हुन् । माओवादी केन्द्रले भने मन्त्री पठाएको छैन ।

यस्तै, प्रदेश ४ का सभामुख नेत्रनाथ अधिकारीले पनि आजै पद तथा गोपनियताको शपथ लिए । प्रदेश ४ मा मूख्यमन्त्री एमाले र सभामुख माओवादीलाई भागबन्डा गरिएको थियो ।

उपसभामुखको निर्वाचन भने फागुन ६ गते हुनेछ ।

उपसभामुखका लागि एमालेकी सिर्जना शर्माको नाम चर्चामा छ ।

यसैबीच, प्रदेश ४ को मन्त्रपरिषदको पहिलो बैठकले उज्यालो प्रदेश कार्यक्रम घोषणा गरी दुई वर्षभित्र सबै गाउँमा विजुली पुर्‍याउने निर्णय गरेको छ । बैठकले २ वर्षभित्र सबै गाउँमा पिउने पानी र ५ वर्षभित्र सबै गाउँपालिकाबाट प्रदेश केन्द्र आउने स्तरीय सडक निर्माण गर्ने निर्णय गरेको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री रामशरण बस्नेतले जानकारी दिए ।

त्यस्तै ५ वर्षभित्र क्यान्सर, मुटुरोग र मिर्गौला उपचारका लागि अत्याधुनिक सुविधासम्पन्न उपचार केन्द्रको स्थापना गर्ने पनि जनाइएको छ । बैठकले ५ वर्षभित्र अन्तर्राष्ट्रिय खेलमैदान निर्माण गर्ने पनि निर्णय गरेको छ ।

प्रतिक्रिया दिनुहोस्