आज प्रजातन्त्र दिवस विभिन्न कार्यक्रम गरी मनाइँदै , राजनीतिक खिचातानीले जनतामा निराशा

काठमाडौँ , फागुन ७ । आज प्रजातन्त्र दिवस स्वदेश तथा विदेशस्थित विभिन्न नियोगहरुमा विभिन्न कार्यक्रमको आयोजना गरी मनाइँदैछ ।जनक्रान्तिका माध्यमबाट राणाशासन अन्त्य गरी देशमा प्रजातन्त्र घोषणा भएको दिनको सम्मानमा विभिन्न कार्यक्रम गरी मनाइँदै छ ।

प्रजातन्त्रकै जगमा लोकतन्त्र हुँदै मुलुकमा अहिले संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्था स्थापना भएको छ ।२००७ सालमा राजा त्रिभुवन र राजनीतिक दलहरूको संयुक्त प्रयासमा १०४ वर्षको जहाँनिया राणाशासनको अन्त्य गर्दै प्रजातन्त्र स्थापना गरिएको थियो ।

प्रजातन्त्र स्थापनाका लागि भएको संघर्षमा शुक्रराज शास्त्री, दशरथ चन्द, धर्मभक्त माथेमा र गङ्गालाल श्रेष्ठले विसं १९९७ माघमा बलिदानी दिनु भएको थियो ।

प्रजापरिषद् नामक राजनीतिक दल भूमिगत रूपमा स्थापना गरी प्रजातन्त्र स्थापनाका लागि जनतामा जागरण ल्याएको अभियोगमा उहाँहरूलाई तत्कालीन राणा शासकहरुले मृत्युदण्ड दिएका थिए ।

नेपाली राष्ट्रिय कांग्रेस र नेपाल प्रजातन्त्र कांग्रेसको २००६ सालमा एकीकरणपछि बनेको नेपाली कांग्रेसका संस्थापक नेता बिपी कोइरालाको नेतृत्वमा भएको सशस्त्र र निर्णायक आन्दोलनले नेपालमा २००७ साल फागुन ७ गते प्रजातन्त्र स्थापना गरेको थियो ।

यता अहिले फेरि सर्वोच्च अदालतमा सोसम्बन्धी मुद्दा विचाराधीन भई बहस तथा सुनुवाइ भइरहेको छ । विसं २००७ साल फागुन ७ गते राणाशासनको अन्त्य भई जनताले राजनीतिक स्वतन्त्रता हासिल गरेको ऐतिहासिक दिनको सम्झना गरी हामी यस वर्ष पनि प्रजातन्त्र दिवस मनाईदैछ । फागुन ७ गते एकतन्त्रीय शासन व्यवस्थाबाट मुक्त भएको दिन हो । यहाँबाट नै लोकतान्त्रिक शासन व्यवस्थाको शुभारम्भ भएको मान्न सकिन्छ ।

जनताबाट निर्वाचित संविधानसभाले बनाएको ‘नेपालको संविधान’ले नेपाली जनतालाई पहिलो पटक सार्वभौम बनायो। लोकतान्त्रिक तथा प्रगतिशील चरित्र भएको वर्तमान संविधानले संघीय लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्ने र मुलुकमा राजनीतिक स्थायित्व, दिगो शान्ति, सामाजिक न्याय, आर्थिक समृद्धि एवं राष्ट्रियतालाई अझ सबल र सुदृढ गर्ने महत्वपूर्ण अभिभारा बोकेको छ । संविधानले शिक्षा, स्वास्थ्य, रोजगारी, खाद्य सम्प्रभुता जस्ता मौलिक हकलाई सुनिश्चित गरेको छ ।

मुलुक राजनीतिक खिचातानीले समस्याग्रस्त भएको छ । यो समस्याबाट पार पाउन पुनः राजनीति सहमति, सहकार्य र एकताको आवश्यकता देखिएको छ । विभिन्न कालखण्डका संघर्षबाट प्राप्त ऐतिहासिक राजनीतिक उपलब्धि यतिबेला धमाधम संस्थागत गर्दै जानुपर्नेमा राजनीतिक कलह र एकले अर्कालाई दोषी देखाएर मात्र प्रजातन्त्र सबल एवं सुदृढ हुँदैन ।

प्रजातान्त्रिक अभ्यासअन्तर्गत विभिन्न घटना एवं परिघटनाबाट मुलुकले धेरै क्षति व्यहोरिसकेका अवस्थामा राजनीतिक अस्थिरता पुनरावृत्ति भइरहँदा देशको समृद्धिमा बाधा पुग्छ । प्रजातन्त्र संसारको सबैभन्दा उत्कृष्ट व्यवस्था हो तर, नेपालमा प्रजातन्त्र आएको सात दशकसम्ममा आइपुग्दा पनि विकास र समृद्धिको बाटामा नेपाल अझै पछि नै रह्यो । प्रजातान्त्रिक अभ्यास एवं प्रयोगमा अब्बल भए पनि विकासको मार्गमा हामी कमजोर नै छौँ ।

प्रजातन्त्रले मानिसलाई शिक्षा, रोजगारी, स्वास्थ्यलगायतमा सुनिश्चितता गरे पनि यी सबै कुरा महँगो भएकाले वास्तविक रुपमा आमनागरिकले प्रजातन्त्रको फल प्राप्त गर्न सकेनन् । अब शहीदका सपना साकार पार्दै आम नागरिकका अपेक्षालाई पूरा गर्न राजनीतिक दलहरु सकारात्मक सोचका साथ अगाडि बढ्नुपर्छ र आन्तरिक कलह, झगडा तथा विवाद सधैँका लागि तिलाञ्जलि दिँदै समृद्धीको बाटोमा अघि बड्न आवश्यक छ ।

 

प्रतिक्रिया दिनुहोस्