बीपी राजमार्ग एकतर्फी मात्रै सञ्चालन

काठमाडौं, १९ कार्तिक ।वर्षात कारण सडकमा लेदो थुप्रिएपछि अरुद्ध भएको बीपी राजमार्ग एकतर्फी मात्रै सञ्चालनमा आएको छ ।

सोमबार बिहान परेको अविरल वर्षाले बीपी राजमार्गको काभ्रे भन्ज्याङदेखि भकुन्डे बेसीको बिच सडक खण्डमा लेदो झरेर थुप्रिएकाले सडक एकतर्फी बनेको काभ्रेपलान्चोकका प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकाल जानकारी दिए।

‘आज बिहानैदेखि परेको पानीले काभ्रे भञ्ज्याङदेखि भकुन्डेसम्मको एक स्थानमा माथिबाट लेदो झरेर थुप्रिएको छ । अहिले सवारी एकतर्फी सञ्चालन भइरहेको छ,’ उनले भने, लेदो हटाउन स्काभेटर पठाइसकेका छौँ । साँझसम्म दुईतर्फी नै सञ्चालनमा आउँछ ।’

साँझसम्म दुईतर्फी सञ्चालनमा आउने उनको भनाइ छ । गत असोजको दोस्रो साता परेको अविरल वर्षासँगै आएको बाढीका कारण यस सडक खण्ड तहसनहस बनेको थियो ।
चाडपर्वको मुखैमा तहसनहस भएको यो सडक खण्ड तत्काल स्थायी रूपमा निर्माण गर्न नसकिने भएपछि अस्थायी रूपमा पुनः निर्माण गरी सञ्चालनमा आएको थियो । यसले गर्दा तिहारमा आवत जावत गर्ने यात्रुहरुलाई समस्या परेको छ ।

प्रतिक्रिया दिनुहोस्