एकतालाई अन्तिमरूप दिन संयाेजन समितिकाे बैठक बस्दै

काठमाडौँ । एमाले माओवादी पार्टी एकता संयोजन समितिको बैठक आज बस्ने भएको छ । एकताको अन्तिम छिनोफानो गर्ने जिम्मेवारी पाएको संयोजन समितिको बैठक आज दिउँसो बस्ने भएको हो ।एमाले अध्यक्ष केपी ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालबीचको ‘गोप्य वार्ता’पछि बस्न लागेको बैठकले एकताको अन्तिम खाकामा सहमति जुटाउने छ । ओली र दाहालबीच एकता र सरकार निर्माणबारे अब कुनै द्विविधा नहरेकाले आजको बैठकले सम्झौतालाई औपचारिक र लिखितरुप दिने माओवादी केन्द्रका नेता तथा एकता संयोजन समितिका सदस्य नारायणकाजी श्रेष्ठले बताए ।

उहाँका अनुसार ओली–दाहालबीचको सम्झौतालाई अन्तिम रुप दिन गएराति नै समितिको बैठक डाक्ने तयारी भएपनि एमाले नेता माधवकुमार राजधानी बाहिर रहेकाले उनी आए लगत्तै आज बैठक बस्ने भएको हो । बैठकले सांगठनिक तथा सैद्धान्तिक विषय मिलाउन दुई वटा कार्यदलसमेत गठन गर्नेछ । यसअघि दुई नेताबीच भएको वार्तामा एकीकृत पार्टीको नेतृत्वको विषयमा सहमति जुटिसकेको छ ।

पार्टी एकता संयोजन समितिमा अध्यक्षद्वय ओली र दाहालसहित एमालेका बरिष्ठ नेता माधव नेपाल, उपाध्यक्ष वामदेव गौतम र महासचिव ईश्वर पोख्रेल तथा माओवादी केन्द्रका तर्फबाट उपाध्यक्ष नारायणकाजी श्रेष्ठ र नेता रामबबहादुर थापा बादल रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्